विराटनगर । कोशी प्रदेशमा  सरकार विस्तारको तयारी भएको छ। सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडको विषयमा कुरा मिलेसँगै सरकार विस्तारको तयारी गरिएको छ । सत्ता गठबन्धन भित्र मन्त्रीपरिषद् विस्तारका विषयलाई लिएर खटपट बढेपछि मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् विस्तार  गर्न सकेका थिएनन् । सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा मन्त्री बाँडफाँडका विषयमा टुङ्गो लागेपछि मुख्यमन्त्री कार्कीले मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन् । 
मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार माओवादीलाई २ वटा र काङ्ग्रेसले २ वटा मन्त्रालय पाउने गरिएको सहमति बनेको  छ ।  यस अघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रिय सभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् । विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्रीलाई अघि सार्ने तयारी मुख्यमन्त्रीको छ। सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् । यस्तै माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगरलाई मन्त्री बनाउने तयारी रहेको श्रोतले जनाएको छ। 
मन्त्री परिषद्को विस्तारको तयारी भई रहेका बेला  नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण मन्त्री परिषद् विस्तारको विषय अन्यौलता परेको छ ।  नेपाली काँग्रेसले ३ दिनसम्म पार्टीको झन्डा झुकाउने र शोक मनाउन  निर्णय  गरेको कारण मन्त्री परिषद् विस्तारको कुरा ३ दिन पछि धकेलिन सक्ने मुख्यमन्त्री कार्यालय श्रोतको भनाई छ। 

असोज २७ गते नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले यसअघि तीन जनालाई मात्रै मन्त्री बनाएका थिए । उनले बाँकी मन्त्रालय आफैसँग राखेका छन् ।  कार्कीले यसअघि नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक÷एक जनालाई मन्त्री बनाएका थिए । अहिले कोशी प्रदेशमा काँग्रेसका शमशेर राई, आन्तरिक मामिला तथा कानुन मन्त्री, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण मन्त्री र नेकपा एसका कमल जबेगु भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।