इटहरी । इटहरीमा व्यवस्थित बसपार्क बन्ने भएको छ । हालको बसर्पाक पुरानो र अव्यवस्थित भएपछि त्यसलाई स्तरोन्नति गर्दै अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको हो । 

नगर विकास कोषको ऋण लगानी ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा बसपार्क निर्माण गर्न लागिएको हो । 
बसपार्क भवनको नगर प्रमुख हेमकर्ण पौडेलले शिलान्यास गरेका छन् । भवन शिलान्यास कार्यक्रममा उपप्रमुख संगिता चौधरी, वडा न.६का अध्यक्ष दिवस पोख्रेल र वडा न. ९का अध्यक्ष जितेन थापा लगायत उपमहानगरका कर्मचारीको उपस्थित रहेको थियो । 
बसपार्क निर्माणका लागि श्री अर्थ÷हाम्रो÷श्रीमान् जे.भी. हेटौँडाले ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का लिएको छ । 
एक बिगाहा क्षेत्रफलमा फैलिएको बसपार्कमा तीन तलाको भवन निर्माण हुने छ । जहाँ व्यवस्थित पार्किङ स्थल, टिकट काउन्टर, सोधपुछ कक्ष, यात्रुप्रतिक्षालय हुनेछ । दोस्रो र तेस्रो तलामा मार्केटका लागि सटर हुनेछ । सभाहल र रेस्टुरेन्ट पनि हुनेछ ।  
निर्माण सुरु भएको १८ महिनामा सम्पन्न हुने लक्ष्य लिएको छ । 
दुई दशक अघि निर्माण भएको बसपार्क साँघुरो र अव्यवस्थित हुँदा बसपार्क पूर्ण रूपमा प्रयोगमा आउन सकेको थिएन । 
नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका  छन् । बसपार्क निर्माण सम्पन्न भएसँगै पार्किङको समस्या समाधानमा सहयोग पुग्ने मेयर पौडेलले बताए ।