विराटनगर । नेकपा एकीकृत समाजवादी कोसी प्रदेश संसदीय दलका नेता पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार विस्तारमा मुख्यमन्त्री केदार कार्कीले सहमति उल्लङ्घन गरेको बताएका छन् ।   सरकारमा सहभागी दलहरूको बिचमा सल्लाह नै नगरी मन्त्री परिषद् बिस्तार भएको बताउँदै  राईले असन्तुष्टि जनाएका हुन् ।  सरकार स्वेच्छाचारी हुँदै गएकोले अध्यादेश ल्याउने बारेमा पनि छलफल नै नभएको राईको भनाई छ।   मन्त्रिमण्डल विस्तारमा सहमति उल्लङ्घन गरेकाले आज शपथमा आफू अनुपस्थित रहेको समेत उनले सञ्चार पार्टीलाई बताए । ‘मुख्यमन्त्री ज्युलाई तत्काल गल्ती सच्याउन आग्रह गर्दछु, उनले भने,  मुख्यमन्त्रीले तत्काल गल्ती नसच्याए विकल्प खोज्न तयार हुनुको विकल्प छैन ।’ एउटा मन्त्रीका लागि सरकारमा टाँसिरहन कुनै जरुरी नभएको नेकपा एकीकृत समाजवादी कोसी प्रदेश संसदीय दलका नेता समेत रहेका राईको चेतावनी छ ।  गर्छु भनेर मुख्यमन्त्रीले गरेका बाचाहरू समेत पुरा नभएको कारण  मुख्यमन्त्रीसँग सहकार्य गर्न सकिने नै अवस्था नभएको राईको भनाई छ । ‘सल्लाह र सहमतिले सरकार चल्ने हो, उनले भने, सहमति नै उल्लङ्घन हुन्छ भने एउटा मन्त्रीको लागि टाँसिएर बसिरहनु जरुरी छैन ।’

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज सरकार विस्तार गर्दै राज्यमन्त्री सहित ६ जना मन्त्री नियुक्त गरेका छन् ।  जसमा नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालय र रामकुमार खत्रीलाई कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालय र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिइएको छ ।
यसैगरी राज्यमन्त्रीमा नियुक्त दुवै जना कांग्रेसका प्रदेश सांसद हुन् । जसमा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनीताकुमारी गुरुङलाई नियुक्त भए ।  कार्की नेतृत्वको कोशी सरकारमा अहिले शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन् ।