विराटनगर । कोशी प्रदेशमा सरकार विस्तार भएसँगै सत्तारुढ दल काँग्रेस भित्र तीव्र असन्तुष्टि फैलिएको छ । मुख्यमन्त्री केदार कार्कीले आफ्ना गुटबाट मात्रै मन्त्री बनाएको भन्दै असन्तुष्टि फैलिएको हो । 

मुख्यमन्त्री कार्कीले दलसँग कुनै छलफल र समन्वय नगरी आफू खुसी मन्त्री नियुक्ति गरेको संसदीय दलका नेता उद्धव थापाले आरोप लगाएका छन् । 

मुख्यमन्त्रीमा नियुक्त भएका साँढे तीन महिना पछि मुख्यमन्त्री कार्कीले हिजो सरकार विस्तार गरेका छन् । 

 उनले सरकार विस्तार गर्दा आफूसँगै विद्रोह गरेका रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्री बनाएका छन् । यस्तै संस्थापन पक्षका भनेर चिनिएका प्रदीप सुनवरलाई स्वास्थ्य मन्त्री बनाएका छन् । यस बाहेक उनले मुख्यमन्त्री हुने बेलामा आफलाई साथ दिएका इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्री  र सुनिता कुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् । यस अघि नै उनले आफूसँगै विद्रोह गरेका शम्शेर  राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाएका छन् । संविधानको धारा १६५ ५० अन्तरगत मुख्यमन्त्री बन्न केदार कार्की सहित काँग्रेसका ८ जना प्रदेश सभा सदस्यहरूले विद्रोह गरेका थिए । काँग्रेसका आफू सहित ८ र  एमालेका ३९ जना सांसदको हस्ताक्षरमा केदार कार्की असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त, भएका थिए । 

मुख्यमन्त्री कार्कीले हिजो माओवादीका २ जानालाई समेत मन्त्री नियुक्त गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्दा पनि आफ्ना उम्मेदवार चम्पादेवी कार्कीको पराजयपछि आक्रोशित भएको माओवादी केन्द्र निरन्तर मन्त्री परिषद् बिस्तारको लागि दबाब दिँदै आएको थियो । दबाबमा परेका मुख्यमन्त्री कार्कीले माओवादीका नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र राजेन्द्र कार्कीलाई  सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ । 

मुख्यमन्त्रीमा कार्की नियुक्त भएसँगे उनले एमालेका राम राना मगर र काँग्रेसका तम्सेर राईलाई मन्त्री बनाएका थिए । पछि सत्ता गठबन्धनले केदार कार्कीलाई नै गठबन्धनको मुख्यमन्त्री स्वीकार गरेर माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरिएको थियो । 

एमाले सरकारबाट बाहिरिएपछि मन्त्री परिषद् विस्तार गर्न नसकेका मुख्यमन्त्रीले बल्ल तल्ल सरकार विस्तार गरे पनि मुख्यमन्त्रीकै पार्टी काँग्रेस भित्र मुख्यमन्त्रीले एकलौटी गरेको आरोप लगाएका छन् ।  मुख्यमन्त्रीले सल्लाह नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै शपथ ग्रहण कार्यक्रममा काँग्रेस संसदीय दलका नेता उद्धव थापा र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई शपथ ग्रहण कार्यक्रममा उपस्थित समेत भएनन् । थापाले सल्लाह नगरी काम गरेकाले आफूहरूको विरोध रहेको बताए । २९ सदस्य सांसद रहेको काँग्रेस भित्र कार्की शेखर समूहका नेता हुन् । 

सत्तामै रहेको एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले यो सरकार नसच्चिए विकल्प खोज्ने समेत बताएका छन् । उनी समाजवादीका तर्फबाट मन्त्री नथपेकोमा असन्तुष्ट बनेका हुन् । नेपाल प्रेससँगकुरा गर्दै रार्ईले यस अघि भएको सहमति उलङ्घन गरेको र अहिले सल्लाह नगरी मुख्यमन्त्रीले मन्त्री परिषद् पिस्तार गरेको बताए । उनले भने काँग्रेसका मात्रै त्यो पनि आफ्नो समूहका ६ जनालाई मन्त्री बनाउनु भएको छ । यसअघि काँग्रेसका थोरै मन्त्री बनाउने सहमति भएको थियो  । 

राईले मुख्यमन्त्री कार्कीले बजेट पनि छलफल नगरी ल्याएको, पदाधिकारी थप्ने गरी ल्याएको त्रुटिपूर्ण अध्यादेश पनि आफू खुसी ल्याएको भन्दै मुख्यमन्त्रीले बारम्बार गल्ती गरेको बताए । आफूले गरेको गल्ती सच्याएर अगाडि नबढे यो सरकारसँगको सहकार्य टुट्ने बताए । हामीले अहिले काँग्रेससँगको सहकार्य भनेका छैनौ राईले भने विद्रोही काँग्रेससँगको सहकार्य टुट्छ हामी विकल्प खोज्छौ । 

समाजवादीका ४ सांसद रहेका छन् ।