विराटनगर ।  विराटनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीमा कार्यरत कम्प्युटर अपरेटरको मृत्यु भएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका–२ र ५ को सिमाना कोशी राजमार्गमा बिहान ९ः४५ बजेतिर ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का करिब २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्स्पेक्टर सुमन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार, गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।  दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।