विराटनगर । कोशी प्रदेशमा भूमिगत सङ्गठनहरूको सक्रियता देखिएको छ ।  केही दिन अघि कोशी प्रदेशको राजधानी विराटनगरलाई लक्षित गरी गतिविधिहरू भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  को नाममा गठन भएको भूमिगत सङ्गठनको नेतृत्व महासचिव महावीरले गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरी भूमिगत सङ्गठनको नाममा कोशी प्रदेशको राजधानीका शैक्षिक संस्थाहरूमा चन्दा आतङ्क सिर्जना गर्ने तथा बम विस्फोट गराउने सम्मको धम्की सो समूहले दिने गरेको सूचनाको आधारमा २ जनालाई पक्राउ गरिएको मोरङका एसपी  दीपक पोखरेलले जानकारी दिए । चन्दा आतङ्क सिर्जना गरेको भन्ने जानकारीको आधारमा गएको प्रहरी टोलीले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखी घर भई काठमाडौँ बस्दै आएका प्रवीण  मिश्र र पाँचथरको याङ्बरक गाउँपालिका १ बस्ने विपिन अधिकारीलाई पक्राउ गरेको हो ।  पक्राउ परेका मिश्रको साथबाट विस्फोटक पद्धार्थमा प्रयोग हुने डेनोनेटर  डेडकार्ड सोडा, सहयोगको नाममा प्रयोग हुने रसिद २ ठेली, आर्थिक सहयोग  सम्बन्धी लेखिएको महावीर महासचिव भन्ने कम्युनिस्ट पार्टी माओवादी भन्ने पत्र, मुक्तिनाथ प्रकाशन गृहको आइडी कार्ड, डायरी र मोवाइल बरामद गरेको एसपी पोखरेलले बताए । त्यस्तै अधिकारीको साथबाट डिजिटल स्टाम्प तथा एसबिआई बैङ्कको चेक बुक प्रहरीले बरामद गरेको छ । 
उनीहरूलाई मङ्गलवार नै सार्वजनिक गर्दै बम राख्नमा समेत उनीहरूको हात रहेको प्रहरीले जनाएको छ। मङ्गलवार विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित घरेलु तथा साना उद्योग कार्यालय नजिकैको खाली जमिनमा प्रेसर कुकर बम जस्तो शङ्कास्पद बस्तु राख्ने गिरोहमा पनि यही समूहको हात रहेको एसपी पोखरेलले बताए । उक्त बम जस्तो देखिने शङ्कास्पद बस्तु  नेपाली सेनाको टोलीले बिहान करिब ११ बजे डिस्पोज गरेको छ । त्यस भित्रको अवशेषहरू परीक्षण कोलागि प्रयोगशालामा पठाउने काम समेत भइसकेको उनले बताए । 

भूमिगत सङ्गठनको नाममा रहेको यो समूहले महाधिवेशनको तयारी समेत गरिरहेको पाइएको छ । झापा, मोरङ र सुनसरीमा बढी क्रियाशील रहेको भनिएको यो समूहमा  नेकपा माओवादी (विप्लव, वैद्य, बहुमत) लगायतका पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताहरू रहेको समेत जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  ‘भूमिगत सङ्गठनले आफ्नो सङ्गठनहरू विस्तारलाई तीव्रता दिएको देखिन्छ, एसपी पोखरेलले भने, तत्काल स्थानीय तहका कमिटीहरू बनी नसकेको जस्तो देखिए पनि ३५ सदस्यीय केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटी बनाएको जानकारीमा आएको छ।’