विराटनगर । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
आर्थिक वर्ष २०७९।०८० का लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण पश्चात् प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले महानगरका मेयर नागेश कोइरालालाई प्रतिवेदन हस्तान्तरण गरे । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार लैससासको स्थिति स्थानीय तहले स्वमूल्याङ्कन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरले पनि लैससास सम्बन्धी आफ्नो परीक्षण प्रतिवेदन तयार पारेको हो । 
लैससासको सय वटा सूचकहरूमा आधारित रहेर परीक्षण प्रतिवेदन तयार पारिएको उपाध्यायले बताए । जसमा १ सय पूर्णाङ्कमा ७४ दशमलव ५ अङ्क प्राप्त गर्न महानगर सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ७० दशमलव ५ अङ्क थियो । लैससासको स्थितिमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
नीति, कानुन तथा योजना, संस्थागत व्यवस्था, मानव सशांधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मुख्य विषय रहेको लैससास परीक्षणमा २२ वटा सहायक विषय र एक सय वटा सूचकमा केन्द्रित रहेर परीक्षण गरिएको थियो । जसमा गत पुस २५ र २९ गते दुई वटा लैससास परीक्षण कार्यशालासमेत सञ्चालन गरिएको थियो । कार्यशालामा सरोकारवाला सबैको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरूले सय वटा सूचकमा अङ्क प्रदान गरेका थिए । प्रतिवेदन बुझ्दै मेयर कोइरालाले लैससास परीक्षण प्रतिवेदनले उठाएका सवालहरूलाई सम्बोधन गर्दै महानगरपालिकालाई कसरी सर्वोत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैलाई पहल र प्रयास गर्न आग्रह गरे ।  
उपमेयर कार्कीले परीक्षण प्रतिवेदन गहन अध्ययन र सरोकारवालाहरूको सहभागिताबाट तयार पारिएको बताइन्  ।  प्रतिवेदनले महानगरको लैससासको पछिल्लो अवस्था के थियो भन्ने प्रस्ट भएको कार्कीले बताइन्  ।  चालु आर्थिक वर्षमा लैससासको स्थितिलाई अझै सुधार गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन आइसकेको उनको भनाइ थियो ।