विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र  खुवाइएको छ । 

५५ वर्षीय महिलालाई कुटपिट गर्दै दिसा पिसा खुवाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझीलाई प्रहरीले  पक्राउ गरेको छ ।  

माझीको घरबाट दियो हराएको र बोक्सीका कारण हराएको भन्दै बिहीबार दिउँसो मानव त महिलालाई मलमूत्र खुवाइएको हो ।  

जिल्ला प्रहरी कार्यालय मोरङका डीएस्पी रञ्जनकुमार दाहालले धामी झाँक्रीको काम गर्दै गाउँ घरमा झारफुक गरेर हिँड्ने माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए । माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएको दाहालले बताए । उनले महिलामाथि अमानवीय व्यवहार गरेको बताए । 

प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको धामीको काम गर्दै आएकी माझीले पीडित महिलालाई लगाइन् । पूजाको दियो हराएपछि बोक्सीले चोरी गरेको भनेर माझीले यातना दिँदै महिलामाथि अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पीडित पक्षले बिहीबार साँझ इलाका प्रहरी कार्यालय हरैँचा पुगेर प्रहरीलाई घटनाको जानकारी गराएको थियो ।  माझीले जोखना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको थाहा भएपछि बोक्सीलाई गर्ने कारबाही गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । 

कुटपिट गर्दै यातना दिन थालेपछि पीडितले पटक पटक आफूलाई त्यसो नगर्न आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको पाइएको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।  डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट शुक्रवार म्याद थप गरिने बताए ।