विराटनगर । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य भीम पराजुलीले पूरक प्रस्ताव राखेका छन्  । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेपाली काँग्रेसको समय सापेक्ष रूपान्तरण आवश्यक रहेको भन्दै पूरक प्रस्ताव दर्ता गराएका हुन्  ।   
पराजुलीले पार्टीको समय सापेक्ष रूपान्तरण आवश्यक रहेको विषयमा स्थिर नीति नभई, राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिवर्तित सन्दर्भको रूपान्तरण आवश्यक  रहेको उल्लेख गरेका छन्  ।  आम नेपालीका लागि समय सुहाउँदो गाँस, बास, कपास , शिक्षा, स्वास्थ्य, उद्यमशीलता र रोजगारीका सवालहरूलाई  सम्बोधन गर्न सक्ने नीति पार्टी भित्र आवश्यक रहेको उनले राखेको प्रस्तावमा उल्लेख छ । 
नेपाली काँग्रेसले आफूलाई जिम्मेवार पार्टीको रूपमा प्रस्तुत गर्न, समग्रमा राजनैतिक दलहरू र खास गरी पुराना दलहरूप्रति आम नागरिकमा बढ्दै गएको अविश्वासको स्थितिलाई बुझ्नुपर्ने,  भ्रष्टाचारले समग्र राजनैतिक संयन्त्रलाई जकडेको यथार्थलाई जति लुकाए पनि अब लुक्न नसक्ने उल्लेख गरेका छन्  । ‘नेपाली काँग्रेस पनि आम नेपालीको नजरमा अछुतो छैन, अब पार्टी शुद्धीकरण नगर्ने हो भने, आरोपितलाई र प्रमाणितलाई संरक्षण दिने हो भने जनतामा नेपाली काँग्रेस जिम्मेवार पार्टी हो  भन्ने विश्वास जगाउन गाह्रो हुन्छ, उनले पूरक प्रस्तावमा लेखेका छन्, उत्पादन र स्वावलम्बनको नीतिमा, २०४८ सालमा सरकारले लिएको आर्थिक उदारीकरण र निजीकरणको नीति नै गलत थियो भन्ने विचार र अभिव्यक्तिहरूलाई नेपाली काँग्रेसले सम्बोधन गर्नु जरुरी छ ।’
केन्द्रीय सदस्य पराजुलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थामाथि आम जनतामा निराशाको बादल मडारिएको उल्लेख गरेका छन्  । ‘यसलाई मजबुत बनाउन काँग्रेसले प्रयत्न गर्नु पर्छ। लोकतन्त्र,प्रजातन्त्र,गणतन्त्र  भनेको जनताले अनुभूति गर्ने कुरा हो, उनले उल्लेख गरेका छन्, तर यी गुणले देशको रूपान्तरण किन गर्न सकेन र आज आलोचना भइरहेको छ? गणतन्त्रमा जे दिन्छौ भनेका थियौ त्यो डेलिभरी गर्न सकेनौ।आज जसका कारण जनतामा निराशाको बाढी लागेको छ।त्यस कारण हामी गम्भीर हुनुपर्ने स्थिति आइसकेको छ ।’
मोबाइलको फिचर परिवर्तन भएर नयाँ भर्सन आएजस्तै अहिलेका विद्यार्थीहरू पनि विभिन्न फरक क्षमताका फरक फिचरका आइसकेका छन् तर हाम्रो शिक्षा प्रणाली पुरानै फिचरका फोन जस्तै भएको उनले बताएका छन्  । ‘व्यवसायी, व्यवहारिक र वैज्ञानिक शिक्षाको व्यवस्थापन गरौँ, उनले बैठकमा लिखित रूपमा राखेको प्रस्तावमा भनिएको छ, विद्यालयमा कक्षा १० सम्म व्यावसायिक प्राविधिक शिक्षा अनिवार्य गरौँ, सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने नीतिको व्यवस्था गरौँ ।’
उनका अनुसार, मानिसका लागि २५ वर्षको समय चानचुने कुरा हैन । यो स्वर्णिम समय  युद्ध र द्वन्द्वको चपेटामा परेर व्यतित भएको छ ।हामी यसवाट तङ्ग्रिँदै यो व्यवस्था र अवस्था सम्म आइपुगेका छौ। तर हामीले अब जनताको लागि दिने राहत के हुन सक्छ ? बेरोजगारी, आर्थिक मन्दीका बिच जनतालाई कसरी बचाउन सकिन्छ ? युवा,उद्यमी र व्यवसायीहरूलाई कसरी आशा जगाउन सकिन्छ ? यसमा ध्यान दिने नीति अख्तियार गर्नु पर्दछ।’ १ दर्जन व्यवसायीले आत्महत्याको बाटो रोजेको, बैक ब्याजदर घटाउने ,राहत सेवा दिने वा आवश्यक आर्थिक नीति अख्तियार गर्ने भनिएको छ।  नेपाली काँग्रेसले वैदिक हिन्दु सनातन राष्ट्रको एजेन्डा बोक्नु पर्ने, यो एजेन्डा पूरक प्रस्तावको रूपमा प्रतिवेदनमा  समेटिनु पर्ने बताएका छन् । 

संवैधानिक नियुक्ति र राजनैतिक नियुक्तिका सवालमा काँग्रेसले पारदर्शिता देखाउन आवश्यक छ, उनले भने, सुशासन, सामाजिक न्याय, पारदर्शिता र आर्थिक समृद्दि परिणाममा देखिने गरी काम गर्न आवश्यक छ ।  उनले अब नेपालमा नोट बन्दीको आवश्यक रहेकोले ५०० र १००० का नोटहरूमा नोट वन्दी लगाउने एजेन्डा पारित गर्न माग गरेका छन् ।