विराटनगर । झापामा एक महिलाले  छोरी सहित आत्म दाहको प्रयास गर्दा बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । झापाको बुद्ध शान्ति गाउँपालिका–२ गोपाल डाँडाकी २८ वर्षीय माया रम्तेलले पाँच वर्षीय छोरी वर्षालाई शरीरमा बाँधेर आत्म दाहको प्रयास गरेको प्रहरीले जनाएको छ।  छोरीको मृत्यु भएको छ भने  आमा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
शुक्रवार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।  घटनामा दुवै जना गम्भीर घाइते भएकोमा  उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएकोमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । उपचारको क्रममा छोरीको आज बिहान मृत्यु भएको र आमा मायाको अवस्था गम्भीर रहेको उनले बताए । मायाको शरीरको अधिकांश भाग आगोले जलेको छ ।  घटनास्थल नजिकै  ‘सुसाइट नोट’ फेला परेको प्रहरीले जनाएको छ।
सुसाइट नोट 

प्रहरीका अनुसार आत्मदाह गर्नु पूर्व मायाले सुसाईट नोट लेखेको पाइएको छ । उक्त नोटमा  आफ्नो श्रीमान् परस्त्रीसँग लागेको भनिएको छ। रम्तेलले उनका पति परस्त्रीसँगको सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाह गर्ने  निर्णय लिनुपरेको नोटमा फेला परेको प्रहरीले जनाएको छ ।  ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।