विराटनगर । विराटनगर महानगरपालिकाले आदर्श माध्यमिक विद्यालयमा अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो । 
प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रा सहित ५ जना विद्यार्थीले सहभागिता जनाएका छन् । 
प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।  कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए ।  महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे ।
मेयर कोइरालाले अन्तरीक्ष सम्बन्धी खोज अनुसन्धानका लागि प्रदेश स्तरमा केन्द्र स्थापना हुनुपर्नेमा जोड दिए ।
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सामुदायिक विद्यालयको स्तर वृद्धि गर्नुपर्नेमा जोड दिए ।  सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढे निजी विद्यालयलाई आपत्ति नहुने प्रस्ट पारे ।   
महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, हिसान मोरङ अध्यक्ष अमित ढकाल, महानगर शिक्षा समितिकी सदस्य सावित्री पराजुली, सन्तोष पोखरेल, पोखरिया माविका प्रअ खेमराज भट्टराईलगायतको उपस्थितिमा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूर्ण कार्य गरेको बताए । 

प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार त्यसबाहेक सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधामा पनि पुरस्कृत गरिनेछ । सो कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।