सुनसरी । सुनसरीको  इटहरी पहिलो पटक हुने जुत्ता–चप्पल व्यापार महोत्सव भोली शुक्रबारदेखि सुरु हुँदै छ  । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत १ ५ गतेसम्म इटहरीमा महोत्सव हुनेछ । इटहरी पश्चिमलाई स्थित यमाहा शोरुम छेउमा जुत्ता चप्पल महोत्सव ३५ दिनका लागि चल्ने आयोजक समितिका अध्यक्ष एवं फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले बताए । स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने मुख्य उद्देश्य मुख्य राखिएको महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने छ । 
महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने र महोत्सव भरी २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । महोत्सवमा रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल सुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको बीएफ डियर हिल सुज, लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड सुज, शुभकामना फुटवेयरको फस्ट वाक सुज, डिजे सुज कम्पनीको डिजे सुज रहेको उपाध्यायले जानकारी दिए । महोत्सव अवधिभरमा करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।