विराटनगर ।  कोशी प्रदेशमा पछिल्लो समय एम्बुलेन्सको प्रयोग गरी गाँजाको तस्करी हुने गरेको पाइएको छ। यस अघि पटक पटक एम्बुलेन्समा गाँजा सहित पक्राउ गरेको प्रहरीले शनिवार साँझ पनि एउटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ। एम्बुलेन्सको प्रयोग गरी लागु औषध गाँजा ओसार पसार गर्ने एक जनालाई धनकुटाको साँगुरी गढीबाट नियन्त्रणमा लिएको छ। साँगुरी गढी गाउँपालिका–६ भेडेटारबाट प्रहरीले गाँजा  नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

एम्बुलेन्समा गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।  चेकजाँच गर्ने क्रममा  एम्बुलेन्स भित्र  ५२ केजी गाँजा बरामद भएको  प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।