विराटनगरं । निर्वाचन आयोगले रिक्त भएका निर्वाचन क्षोत्रमा उप निर्वाचनको मिति घोषणा गरेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको उप–निर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको हो । आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन गर्ने छ । त्यस्तै  प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय भएको आयोगका उपसचिव  सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो । 

कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिएको हो ।