विराटनगर । उद्योग सङ्गठन मोरङले नेपाल उद्योग परिसंघ कोसी प्रदेश र विराट व्यापार सङ्घका नवनिर्वाचित कार्यसमितिसँग स्वागत तथा भेटघाट गरेको छ । औद्योगिक क्ष्त्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ । 
भेटघाटमा सङ्गठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरू मिलेर अघि बढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने बताएका छन्  । 
उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको बताउँदै समस्या समाधानका लागि संस्थागत एकवद्धतता लागि सबेसँग आग्रह गरेका छ ।  अध्यक्ष सुरानाले सरकार र निजी क्षेत्र बिचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकाय बिच सकारात्मक सम्बन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।  
नेपाल उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष पवन सारडाले मौजुदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसंग सम्बन्धित व्यवसायी संस्थाहरूको एकजुट हुनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरू समाधानकारलागि निजी क्षेत्रका संस्थाहरूले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रूपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्ने जोड अध्यक्ष सारडाले दिए । 
विराट ब्यापार सङ्घका अध्यक्ष अंशु बन्जाराले व्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार सङ्घ संस्थागत रूपमा सदैव तत्पर रहेको बताए । उनले समस्यै समस्याको भुमरीमा  जेलिएका व्यवसायी क्षेत्र बिचको आपसी सम्बन्ध थप प्रगाढ बनाउनु पर्नेमा जोड दिए । 
सङ्गठनका वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठीले निजी क्षेत्रको सबलीकरणका लागि सामूहिक रूपमा पहल गरी व्यवसायी विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने बताए ।  कार्यक्रममा उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ, कोसी प्रदेश र विराट व्यापार सङ्घका  पदाधिकारी, कार्यसमिति सदस्यहरूका साथै महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।