सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै विकास योजना खन्याएको भन्ने आरोपको खण्डन गरेका छन् ।
बुधवार इटहरी उपमहानगरपालिका ४ मा नवनिर्मित कचना बुढिगंगा महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर नै पूर्वाधार विकासका योजना पुर्‍याएको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको भनेर आफ्नो आलोचना हुने गरेको भन्दै आफूले देशभर शिक्षा, स्वास्थ्य र पूर्वाधारका योजना सुरु गरेको बताए ।
आफू प्रधानमन्त्री हुँदा धेरै योजनाहरू अघि बढाएको तर अहिलेको सरकारले कटौती गरेको आरोप लगाए । नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सबैका लागि गुणस्तरीय शिक्षा पुर्‍याउनु नै आफ्नो उद्देश्य भएको बताए । उनले पूर्वाधार विकास मात्रै नभएर शिक्षक र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । 
नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत झन्डै साढे ९ करोडको लागतमा ३ तले सुविधा सम्पन्न भवन निर्माण भएको हो ।