विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीहरूले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिको आयोजनामा काठमाण्डौको तिनकुनम अहिले विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनमा आदिवासी जनजाति महासङ्घमा आबद्ध जातीय सस्थाहरुले सहभागिता जनाएका छन् । यस्तै कोशी प्रदेशका १४ वटै जिल्लामा पनि कोशी नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन भइरहेको छ ।
कोशी प्रदेश सभाले एक वर्ष अघि आजकै दिन प्रदेशको नाम कोशी राखेको थियो । प्रदेशको नाम कोशी राखेको दिनलाई पहिचानवादीहरूले कालो दिनको रूपमा विरोध जनाएको किराँत याक्थुङ्ग चुम्लुङका महासचिव निरन्ती तुम्वापोले बताइन् । उनका अनुसार प्रदर्शनमा आदिवासी जनजाति महासङ्घमा आबद्ध सबै जातीय संस्थाको सहभागिता रहेको छ । प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिले प्रदेशको नामक कोशी राखेको दिनको रूपमा कालो दिनको रूपमा फागुन १७ लाई लिएको बताइन् । उनले कोशी नाम खारेजीको माग राख्दै सङ्घीय राजधानी लगायत कोशी प्रदेशका सबै जिल्लामा प्रदर्शन भइरहेको बताइन् ।
कोशी सभाले ७९ साल फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । कोशी प्रदेश सभामा रहेका एमाले, माओवादी, काँग्रेस र राप्रपाका प्रदेश सभा सदस्यले कोशी नामको पक्षमा मतदान गरेका थिए ।
९३ जना प्रदेश सभा रहेको कोशी प्रदेशमा जसपा र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूले भने विपक्षमा मतदान गरेका थिए । एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश सभामा छुट्टै नामको प्रस्ताव गरेका थिए । तर उनको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेको थियो ।
संवैधानिक प्रक्रिया पुर्याउँदै कोशी नाम राखिएपछि पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु लाजेङ्गको मृत्यु भएपछि सरकारले सहिद घोषणा गरेको छ ।
आन्दोलनपछि कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समिति बिच वार्ता भइरहेको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचानवादीहरूसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगुको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् । संयुक्त सङ्घर्ष समितिले पनि वार्ता टोली गठन गरेको छ ।