विराटनगर । आसन्न इलाम २ को उप निर्वाचनमा पहिचान पक्षधरबाट साझा  उम्मेदवार कसलाई बनाउने विषयमा आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ । वैशाख १५ गते हुने उप निर्वाचनमा पहिचान पक्षधरका तर्फबाट साझा उम्मेदवार बनाउने निर्णय भएको छ । गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्ने माग सहित आन्दोलन हुँदै आएको छ । प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी सहित सुरु गरेको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ। पहिचानको आन्दोलन चलिरहँदा इलाम २ मा हुने उप निर्वाचनमा पहिचान पक्षधरका तर्फबाट साझा उम्मेदवार बनाउने घोषणा भएको छ। 
घोषणा अनुसार साझा उम्मेदवार छनौटका लागि भोली छलफल हुने नागरिक उन्मुक्त पार्टीका उप महासचिव पदम अधिकारीले बताए । उनका अनुसार इलाम २ मा उम्मेदवार बन्ने आकाङ्क्षीहरू धेरै भएका कारण उम्मेदवार छनौटका लागि बैठकको राखिएको छ । 
इलाम २ मा हुने उप निर्वाचनमा उम्मेदवार बन्न सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, राष्ट्रिय जनजुत्ती पार्टीका केपी पालुङ्गा, आकाङ्क्षी छन् । यस्तै किराँत भाषा तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डाकेन्द्र सिङ थेगिम र किराँत याक्थुङ्ग चुम्लुङका अध्यक्ष प्रेम एक्तेनको पनि चर्चा छ । थेगिम प्रदेश नम्बर १ पुन नामकरण अभियान समितिका संयोजक समेत हुन् । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनका विश्वास पात्रका रूपमा रहेका थेगिम पहिचान पक्षधरको साझा उम्मेदवार बन्ने सबै भन्दा बढी सम्भावना रहेको श्रोतको दाबी छ । उनलाई उम्मेदवार बनाए गुरुको साथ रहने र आर्थिक पनि सहज रूपमा जुट्ने भन्दै थेगिमलाई उम्मेदवार बनाउन खोजिएको छ । उनी लामो समयदेखि किराँत धर्म गुरु लिङ्देनसँग नजिक रहेर काम गर्दै आएका छन् । एक्तेन त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक हुन् । उनी डाकेन्द्र निर्वाचनमा उम्मेदवार बने छाड्ने पक्षमा रहेको बताइन्छ । 
थेगिमले भने जिम्मेवारी आए पछि नहट्ने बताए । उनले राजनीतिक भन्दा पनि सामाजिक व्यक्तित्व उम्मेदवार बनाउनु पर्छ भन्ने रहेको बताए । यसो हुँदा परिस्थितिले आफू पनि उम्मेदवार बन्न सक्ने थेगिमले बताए । उनले भने,आन्दोलन जारी छ । एक जनाको मृत्यु भइसक्यो । थुप्रै घाइते छन् । उनीहरूको भावनाको सम्बोधन गर्न पनि पहिचानवादीहरूले साझा उम्मेदवार बनाउनै पर्छ । 
प्रदेशको नामकरण पछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुत्ती पार्टी, जनमुक्ति पार्टी लगायत विभिन्न पार्टीहरू नामकरणको विरोधमा आन्दोलन गर्दै आएका छन् । यस्तै आदिवासी जनजाति महासङ्घ किराँत याक्थुङ्ग चुम्लुङ, किराँत राई यायोख्खा, किराँत भाषा तथा साहित्य उत्थान सङ्घ  लगायतका जातीय र सामाजिक सङ्घ सस्थाहरुको नेतृत्वमा आन्दोलन जारी छ । 
संयुक्त रूपमा आन्दोलन चलिरहेकाले निर्वाचनमा पनि संयुत्तः रूपमा जाने निर्णय भएको किराँत याक्थुग चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले बताए । उनले प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले यस अघि नै साझा उम्मेदवार उठाउने निर्णय भएकाले साझा उम्मेदवार तय हुने बताए । आदिवासी जनजाति पत्रकारहरूको संस्था फोनिजका महासचिव मिलन लिम्बू समेत पहिचान पक्षधरको साझा उम्मेदवार बन्ने ध्याउन्नमा छन् ।