विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा  विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।  कोसी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका लगायत विभिन्न सङ्घ संस्थाको संयुक्त आयोजनामा बिहीबार प्रभात फेरीको आयोजना गरिएको छ ।  भोली मार्च ८  ११४ औ अन्तर्राष्ट्रिय  महिला दिवस मनाईँदै छ । दिवसको पूर्व सन्ध्यामा विराटनगरमा प्रभात फेरी गरिएको हो ।  महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नारा सहित दिवस मनाइएको  सामाजिक विकास मन्त्रालयका  दुर्गा भण्डारी बरालले जानकारी दिइन् ।  कार्यक्रममा बोल्दै कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले   महिलाले आफ्नो अधिकार स्थापित गर्ने सन्दर्भमा कानुनी रूपमा धेरै काम भए पनि व्यवहारमा सुधार गरेर जानु पर्ने बताए ।
prabhat feri (1)

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिला शसक्तिकरणको लागि विराटनगर महानगरपालिकाले काम गरिरहेको बताइन्  ।  ‘किशोरी सशक्तीकरण नै महिला मुक्तिको एउटा आधार हो, हामीले किशोरी सशक्तीकरण र  महिलालाई सीप दिनु पर्छ भनेर लागेका छौँ, उनले भनिन्, सीपले महिलालाई स्वरोजगार बनाउँछ,  रोजगारीको माध्यमाबाट नै महिलाको आर्थिक उन्नति हुने हो ।’  स–साना तालिम र सहयोगहरू पनि महिलाको लागि ठुलो जीवन धान्ने आधारहरू बनेको उनले बताइन् ।