विराटनगर । नेकपा एमाले कोसी प्रदेश संसदीय दलले तत्काल सरकार छाड्न मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गरेको छ। प्रमुख सचेतक रेवती रमण भण्डारीले यो सरकार अल्पमतमा परेकोले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका हुन् । यो सरकार राजनीतिक रूपमा अल्पमतमा परेकोले नैतिकताको आधारमा राजीनामा दिन उनले आग्रह गरेका हुन् । अल्पमतमा रहेको व्यक्तिले मुख्यमन्त्री जस्तो  पदमा बसी रहन नमिल्ने उनले बताए ।  प्रमुख सचेतक भण्डारीले  भोली प्रदेश सभामा यो विषय प्रवेश गर्ने बित्तिकै सभामुखले अल्पमतमा परेको वैधानिक सूचना दिएपछि  त्यो बेला मुख्यमन्त्री अप्ठ्यारोमा पर्ने अवस्था आउने उनले बताए । संविधानको धारा १८८ को उपधारा १ को अवस्था आएमा  अल्पमतमा परेको अवस्थामा विश्वासको मत लिनु पर्छ, त्यस्तो अवस्थामा विश्वासको मत लिन पाउँदिन  भन्न नपाउने उनको भनाई छ।
मुख्यमन्त्री कार्कीले जबरजस्ती गर्न खोजेको अवस्थामा  संविधानको धारामा टेकेर हटाउने उनको दाबी छ ।  ‘निरङ्कुशता र स्वेच्छाचारी रूपमा मुख्यमन्त्री लाग्न खोज्नु गलत हुनेछ, उनले भने,  मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा तत्काल राजीनामा नदिने हो भने मुख्यमन्त्री अप्ठ्यारोमा पर्नुहुन्छ ।’
कुन प्रदेश कसले नेतृत्व गर्ने भन्ने बारेमा केन्द्रीय नेतृत्वको बिचमा टुङ्गो लागि नसकेको कारणले गर्दा चुप लागेर बसेको समेत उनले बताएका छन् ।  अब केन्द्रबाट टुङ्गो लाग्ने बित्तिकै नेकपा माओवादी, एकीकृत साजवादी र एमाले सहितको सरकार कोसी प्रदेशमा बन्ने उनको दाबी छ । 
‘मुख्यमन्त्री मान्नुभयो भने राजीनामा दिन भन्छौँ, माओवादी र एकीकृत समाजवादीका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीकोलागि निक्कै चुनौतीपूर्ण हुने छ, उनले भने, त्यो भन्दा पहिला नै मुख्यमन्त्री कार्कीले नै राजीनामा दिनुपर्छ ।’ नेकपा एमाले संसदीय दलले  कोसी प्रदेश सभाको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै सर्वोच्चको फैसलाले  सभामा बहुमत पुर्‍याउन सक्ने आधार हुँदासम्म प्रदेश सभा विघटन भई चुनावमा जाने आधार नभएको उनले बताए ।   उनले २०७८ असार २८ गतेको सर्वोच्चको फैसलाको ब्यख्यालाई टेकेर जाने आधार रहेकोले  मुख्यमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठन गर्ने वातावरण बनाउन आग्रह गरे । 

नेकपा एमाले संसदीय दलका उपनेता राम रानाले  समय अनुसार सबै दलहरु चल्ने पर्ने बाध्यताको बिच कोशीमा कसैले सरकार छाड्दिन भन्नु अहमता मात्र हुने बताए ।