विराटनगर । इटहरीका पत्रकार कृष्णबहाब भट्टराई माथि भएको घटनाको संसदीय पत्रकार मञ्च कोशी प्रदेशले विरोध जनाएको छ। शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गरी  कानुनी दायरामा ल्याउन माग गरेको हो । मञ्चका अध्यक्ष कुमार लुइँटेल र सचिव सुमन सुस्केराद्वारा जारी विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाको गेटमा सिटी सफारी चालकहरूको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकार भट्टराईमाथि लक्षित गरी नगर प्रहरीले धक्का मुक्का गर्दै  रिपोर्टिङमा प्रयोग भएको मोबाइल समेत खोस्ने कार्यको मञ्च खेद प्रकट  गरेको हो ।  ‘आफू पत्रकार भएको परिचय दिँदासमेत उल्टै गालीगलौज सहित दुर्व्यवहार र धम्की दिइएको विषय सामान्य हुनै सक्दैन, विज्ञप्तिमा भनिएको छ,  जाहेरी दिन गएका पत्रकार भट्टराईको जाहेरी समेत नलिनुले घटनालाई थप शङ्कास्पद बनाएको छ।’

इलाका प्रहरी कार्यालय  इटहरीका  प्रहरी नायव उपरीक्षक ९डिएसपी० टेकबहादुर कार्कीले घटनालाई सामान्य रूपमा लिई जाहेरी दर्ता नगरेको विषयलाई समेत मञ्चले गम्भीर रूपमा लिँदै  डिएसपी कार्कीको नियतमाथि समेत प्रश्न उठाएको छ।  इटहरी उपमहानगरपालिकाबाट दोषीलाई कार्वाहीकोलागि प्रारम्भिक छानबिन समिति गठन भइसकेको स्थितिमा प्रहरीले जाहेरी दर्ता गर्न नमान्नुले कानुनी राज्यको उपहास भएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

‘नीति, विधि, कानुन र सिद्धान्तको निर्माण र कार्यान्वयन गराउने निकायहरू नै आलोचित हुनु राम्रो हैन, विज्ञप्तिमा भनिएको छ, यो रवैयाको आलोचना गर्दै यस्ता गतिविधि रोक्न माग गर्दछौँ ।’ तत्काल दोषीलाई कारबाही गरी निजलाई कानुनी दायरामा ल्याउन मञ्चले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।  

त्यहाँ पुगेको पत्रकारहरुको टोलीलाई डिएसपी कार्कीले त्यो बिषय प्राथमिकतामा नभएको बताएका थिए  । अरु धेरै ठुला मुद्दाहरु प्रहरीकोमा रहेकोले त्यस्ता बिषयलाई प्राथमिकतामा राख्न नसकिने उनको भनाई थियो ।