विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा कार्यरत एक नर्सको हत्या भएको छ ।  सिरहा घर भएकी चन्द्रिका कुमारी दासको आफ्नै  डेरामा हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ। 
प्रहरीका अनुसार, उनको शव नोबेल अस्पतालदेखि केही उत्तरतर्फ डेरा बस्दै आएको घरको शौचालयमा फेला परेको हो । प्रारम्भिक रूपमा शवको प्रकृति हत्या जस्तै देखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्या गरेर फालिएको आशङ्का गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।  विराटनगर महानगरपालिका– ४ मा डेरा गरी बस्ने २३ वर्षीय दासको शव शौचालयमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । मृत भेटिएकी दास सिराहाको फुल्काहाकट्टीकी भएको खुलेको छ । दासको घाँटी र अनुहारमा धारिलो हतियारको चोटपटक देखिएको प्रहरीले जनाएको छ ।  घटनाको. बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।