विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ । 
विराटनगर वडा नम्बर १ को आर्थिक सहयोगमा सो वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष काजीबहादुर बस्नेतले तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकहरूलाई बिदाइ गरे । 
 वडाले ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चको संयोजनमा तीर्थयात्रामा लगेको वडाध्यक्ष बस्नेतले बताए । वडाले हरेक वर्ष ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लाने गरेको उहाँले जानकारी दिए ।  मौलाकाली, स्वर्गद्वारी, रिडी, लुम्बिनीलगायत विभिन्न धार्मिक स्थलको भ्रमणपछि ज्येष्ठ नागरिकको टोली एक हप्तामा विराटनगर फर्किने मञ्चका सचिव ईश्वर खतिवडाले जानकारी दिए   । 
महानगरले तीर्थयात्रामा लगेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । भ्रमणमा सहभागी ज्येष्ठ नागरिक टीकाप्रसाद निरौलाले महानगरले अत्यन्तै राम्रो काम गरेको बताए । महानगर र वडा समितिको जति नै प्रशंसा गरे पनि कमी हुने निरौलाको भनाइ थियो । स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ५५  जनाको टोली भ्रमणमा गएको वडाध्यक्ष बस्नेतले बताए । उनका अनुसार वडाको २ लाख रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिकलाई भ्रमणमा लगेको हो ।