इटहरी । इटहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको आकाशे पुल र आधुनिक सभा हल निर्माण हुने भएको छ ।  लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र इटहरी सभा गृह निर्माणको प्रक्रिया अगाडि बढेको छ ।  यस अघि इटहरीमा आकाशे पुल बन्ने भन्दै आहा इटहरीको रूपमा चर्चा भएको थियो । 

इटहरीको मुख्य बजार क्षेत्रमा यात्रुहरूलाई बाटो काट्न सजिलो बनाउन बढी भिडभाड हुने २ स्थानमा आकाशे पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । 
इटहरीको मुख्य चौक देखी उत्तर तर्फ धरान रोडमा सङ्गीत चौकबाट रोड क्रस गरी पारी आकेश कलेक्सन छेउ ओर्लने गरी आकाशे पुल निर्माण गरिने भएको हो  । त्यस्तै मुख्य चौकबाट दक्षिण तर्फ गोल्डेन चौकमा अर्को आकाशे पुल निर्माण हुनेछ ।

 इटहरी उपमहानगरपालिकाले दुई स्थानमा आकाशे पुल निर्माण गर्न फागुन १८ गते रिजेन्सी विल्र्डससँग ठेक्का सम्झौता गरेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । 

२ वटा पुल निर्माणका लागि उपमहानगरपालिकाले ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँको ठेक्का आह्वान गरेको थियो । जसमा ४ करोड ५१ लाख ६३ हजार ७५२ रुपैयाँ प्रस्ताव गर्ने रिेजेन्सी विल्डर्ससँग उपमहानगरले निर्माणको सम्झौता गरेको छ ।  सम्झौता भएको मितिले एक वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने उपमहानगरले जनाएको छ ।  

image 1

बढ्दो सवारी चापले इटहरीमा ट्राफिक व्यवस्थापन गर्न समस्या छ । सवारी चापले गर्दा पैदल यात्रुहरूलाई रोड क्रस गर्न समस्या हुने गरेको छ । 
सवारी व्यवस्थापन ट्राफिक लाइट सुरु भएको छ । तर त्यसले पैदल यात्रुको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सडक वारपार गर्ने यात्रुको कारण सवारी सञ्चालनमा पनि समस्या छ । 

बन्न लागेको आकाशे पुलले यात्रुहरूलाई सहज हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेल बताउँछन् । 
ट्राफिक लाइट हुँदा पनि यात्रुहरूलाई रोड क्रस गर्न समस्या भइरहेको अवस्थामा आकाशे पुल निर्माण भए अझ सहज हुने उनको भनाई छ । केही दिन पछि आकाशे पुल निर्माणको शिलान्यास गरिने उपमहानगरले जानकारी दिएको छ । 

ढिलै भए पनि अब भने इटहरीमा आकाशे पुल बन्ने भएको छ । तोकिएको समयमै निर्माण पुरा हुन सके करिब ६ वर्ष अघि पूर्व सांसद सर्वध्वज साँवाले ‘आहा इटहरी’ भन्दै इटहरीमा आकाशे पुल बनाउने भनेर देखाएको सपना पुरा हुनेछ । 

ड्रिम प्रोजेक्ट : आधुनिक सभा हल 

2_6 - Photo

इटहरी सहरमा व्यवस्थित सभा हल छैन । सभा हल नहुँदा इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ । व्यवस्थित सभा हल बनाउनुपर्ने माग अघिल्लो कार्यकालबाट नै सुरु भएको हो ।  अर्को तर्फ कोशी प्रदेशमै एकै पटक धेरै मानिसहरूको उपस्थितिमा सभा, सम्मेलन, गोष्ठी गर्ने व्यवस्थित सभा हल छैन । 

नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन । सुविधा सम्पन्न थिएटर निर्माण गर्नुपर्ने रङ्गकर्मी तथा कलाकर्मीहरूको माग पनि तीव्र छ ।  इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माण गर्ने भएको छ ।
  बहु प्रयोजन सहितको आधुनिक सभा हल निर्माण गर्न इटहरी उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको छ । इटहरी उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर जीवन घिमिरे जानकारी दिए ।

  इटहरी उपमहानगरपालिकाको वडा न. ५स्थित काव्य वाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकै पटक ५ सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ । काव्य वाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इन्जिनियर जीवन घिमिरे जानकारी दिए । 

३ तलाको भवनमा तिन स्टेप स्लोप डिजाइनको सभा हल निर्माण हुनेछ । तिन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो । यस किसिमको सभा हल कतै नभएको इन्जिनियर घिमिरेले जानकारी दिए ।
 
यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताए । निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ । नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने इन्जिनियर घिमिरेले जानकारी दिए ।
 
योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इन्जिनियर घिमिरेको भनाई छ । 

निर्माण सम्पन्न भएपछि कोशी प्रदेशमा गरिने ठुला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उपमहानगरको भनाई छ । ठुला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले  आर्थिक गतिविधि पनि बढ्ने उपमहानगरको अपेक्षा छ । 

सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४ करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको  ठेक्का आह्वान गरेको थियो । 
आवेदन परेका मध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ । 

नगर स्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीका लागि निकै चासो पूर्वक हेरिएका ठुला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको  नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 

उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकाशे पुल र आधुनिक सभा हललाई चाँडै शिलान्यास गरिने नगर प्रमुख हेमकर्ण पौडेलले बताए । यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने पनि प्रमुख पौडेलले बताए । 

आकाशे पुल र व्यवस्थित सभा हल इटहरीका लागि ठुलो आवश्यकताका योजना पनि हुन । यी योजनाहरूलाई इटहरीवासीले लामो समय देखी माग गरिरहेका छन् । सहरको आवश्यकता  देखिएका योजनाहरू निर्माण सुरु गरी तोकिएको समयमै सम्पन्न भए इटहरीवासीलाई भने उत्साहित बनाउनेछ ।
2_3 - Photo