इटहरी । खोला पैनी मिचेर बनाइएका संरचना हटाउन सूचना जारीको ६ महिना पछि उपमहानगरले अवैध संरचना भत्काउन सुरु गरेको छ ।
टेँग्रा खोलाको मुहानबाट खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको उपमहानगरले जनाएको छ । यस अघि पटक पटक जारी गरेको सार्वजनिक सूचनालाई अवज्ञा गरेको भन्दै उपमहानगरपालिकाले डोजर लगाएर संरचना भत्काउन सुरु गरेको हो ।
मंगलबार डोजर लिएर संरचना भत्काउन पुगेका नगर प्रमुख हेमकर्ण पौडेलले बारम्बार सुचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैले भत्काउन सुरु गरेको जानकारी दिए ।
कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलले जिकिर गरे ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मानेर खोला पैनीको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका संरचना हटाउन सुरु गरेको मेयर पौडेलले जानकारी दिए ।
गएको असारमा ३५ दिने सूचना जारी गर्दै अवैध भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यस पछि पटक पटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो ।
कति छन् भत्काउनुपर्ने भौतिक संरचना ?
खोला, पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदल अन्तर्गतको उपसमितिका प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो ।
गत साउन ९ गतेदेखि प्रविधिक टोलीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बाट काम थालेको थियो । अध्ययन अनुसार ७४ वटा संरचनाहरू खोला मिचेर बनाइएको पाइएको छ । जसमध्ये २२ वटा आरसिसी (पक्की) भवन निर्माण भएका छन् ।
यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय र चर्च समेत छन् । अन्य संरचनामा गाईबस्तुका गोठ, सुँगुरका खोरहरू रहेको पाइएको छ।
अध्ययन अनुसार धेरै ठाउँमा व्यक्तिको जग्गामा खोला बगेको भेटिएको छ भने खोलाको जग्गामा संरचना बनेका छन् ।।