सुनसरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रवत्ता डा. प्रकाश शरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जोगाउनकै लागि सरकारले संसदीय छानबिन समिति गठन नगरेको बताएका छन् ।
प्रेस युनियन सुनसरीले सोमबार बिहान इटहरीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले संसदीय छानबिन समिति गठन गर्दा लामिछाने दोषी देखिने सम्भावना रहेको र सरकारलाई दिएको समर्थन फिर्ता हुने डरले छानबिन समिति गठन गर्न सरकार अनिच्छुक देखिएको बताए ।
काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा लामिछानेले गैर जिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको महतले आरोप लगाए ।
सहकारी ठगी प्रकरणमा काँग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताउँदै महतले काँग्रेसको माग अनुचित नरहेकाले दाबी गरे । लामिछाने छानबिन गर्ने निकायको प्रमुख भएर बसिरहँदा आफूमाथिका आरोपहरू निष्पक्ष छानबिन हुन नसक्ने उनले बताए ।
उनले संसदीय समिति वा न्यायिक समिति गठन गरेर छानबिन गर्दा गलत काम नगरेको भए समस्या नहुने बताउँदै यसमा साथ दिन गृहमन्त्री लामिछानेलाई आग्रह गरे ।