विराटनगर । इलाम क्षेत्र नम्बर २ मा  भोली हुने उप निर्वाचनका लागि निर्धारण गरिएको सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’ मतदान केन्द्र घोषणा गरिएको छ। इलाम  निर्वाचन क्षेत्र नम्बर २ का ७९ वटा मतदान स्थल र १ सय ४९ वटै मतदान केन्द्रलाई सुरक्षा समितिको बैठकले अति सवेदनशिल मतदान केन्द्रमा राखी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे प्रदेशमा एउटा मात्रै निर्वाचन  क्षेत्रमा निर्वाचन भएकाले भिडभाड हुने र मुभमेन्ट बढी हुन सक्ने देखिएकाले यस पटक ‘अति संवेदनशील’मतदान केन्द्र घोषणा गरेर निर्वाचन गर्न लागेको बताए । उनले भने, निर्वाचन भाँड्ने भन्दा पनि यातायात र बाटोको कारण पनि यस निर्वाचन गराउन सजिलो होस र सुरक्षाकर्मी परिचालनमा सहज होस भनेर अति संवेदनशील मतदान केन्द्रको रूपमा राखिएको बताए । 
निर्वाचन सम्पन्न गराउनका लागि विशेष सुरक्षा योजना लागू गर्दै निर्वाचनमा एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना परिचालन हुने छन् । यस्तै निर्वाचनमा सात सय ४५ कर्मचारी परिचालन हुने यादवले बताए । 
इलाम क्षेत्र नम्बर २ मा ६ वटा पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । एक लाख १५ हजार  आठ सय ८९ मतदाता रहेका छन् । 
आवश्यक तयारी अन्तिम चरणमा 
वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि अन्तिम तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि ९० मतदान केन्द्रको आवश्यक तयारी भइसकेको बताए । बाँकी केन्द्रको पनि तयारी सम्पन्न हुन लागेको रिर्पाोट आएको घिमिरे बताए ।  उनले स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदान स्थलको घेरा बारा, मतदाताको लाइन बस्नका लागि लाइन बस्ने ठाउँ  तयार भएको बताए । 
मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसै गरी पानी र घाम बाट जोगाएका लागि टेन्ट टाङ्ने काम समेत भएको छ ।