इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै छ । इटहरीमा हुने अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उद्घाटन गर्ने छन् । अधिवेशनमा जम्मा ७ सय ३० प्रतिनिधि सहभागी हुने छन् ।  
पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सर्व सम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ । 
सुनसरी अध्यक्षका लागि पार्टीका निलम खनाल र खेमराज पोख्रेलले आकक्षा देखाएका छन् । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनौट चुनावी प्रक्रियाबाट हुने देखिएको छ । 
अध्यक्षको आकाङ्क्षी खेमराज पोख्रेल यस अघि सातौँ जिल्ला अधिवेशनमा पनि पराजित भएका थिए । उनी रेवतीरमण भण्डारीसँग पराजित भएका थिए । निलम खनाल भने अहिलेका उपाध्यक्ष हुन् । 
खेमराज पोख्रेल र निलम दुवै पार्टी अध्यक्ष निकट हुन् । अघिल्लो अधिवेशनमा पार्टी अध्यक्ष ओलीको निर्देशन विपरीत खेमराज अध्यक्षको प्रत्याशी भएपछि उनको सम्बन्ध ओलीसँग बिग्रिएको बताइन्छ । 
निर्वाचन भए ओलीको साथ वर्तमान उपाध्यक्ष खनाललाई रहने छ । यस अघि नै अध्यक्षले लाइन दिएपछि उनी अध्यक्ष बन्ने तयारीमा लागेका छन् । 
खनाललाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राई, बर्तमान अध्यक्ष रेवतीरमण भण्डारी, केन्द्रीय सदस्यहरू लक्ष्मी गौतम, जगदीश कुसियैतले साथ दिएका छन् । खेमराज पोख्रेलको पक्षमा भने भीम आचार्य उभिएका छन् । 
यस्तै उनलाई १० बुँदे समर्थितहरूले साथ रहनेछ । यस अघि खेमराजलाई केन्द्रीय सदस्य तथा मन्त्री भगवती चौधरीले साथ दिएकी थिइन् । तर यस पटक भने उनी मौन छन् । 
प्यानलमा को को ? 
अध्यक्षका दुई प्रत्याशी भएपछि प्यानल नै भिडन्त हुने पक्का भएको छ । तर अहिले सम्म दुवै पक्षबाट प्यानल भने बनिसकेको छैन । प्यानलको अन्तिम टुङ्गो नलागे पनि निलम पक्षको उपाध्यक्षमा परशुराम यादवलाई उठाउने तयारी भएको छ । उनलाई जगदीश कुसियैतले उपाध्यक्ष बनाउनु पर्ने दबाब दिँदै आएका छन् । 
मधेस पहाड मिलाउनु पर्ने भएकाले उनलाई उपाध्यक्ष बनाउनु पर्ने माग छ । तर याम सुब्बाले पनि उपाध्यक्षमा आकांक्ष देखाएका छन् । निलमको पक्षबाट सचिवमा भने राम कोइराला उम्मेदवार बनाउने तयारी छ । उनी अहिलेका उप सचिव हुन् । 
यस्तो सो समूहबाट उप सचिवमा धरानकी इन्द्रकला राईलाई उम्मेदवार बनाउने तयारी भएको छ । उप सचिवमा उपाध्यक्ष नभए याम सुब्बा उप सचिवको उम्मेदवार हुने छन् । 
खेमराज प्यानलबाट भने नन्द बस्नेत उपाध्यक्षको उम्मेदवार बन्ने छन् । यस्तै सचिवमा भने मीन सुब्बालाई उम्मेदवार बनाउने तयारी भएको छ । उप सचिवमा भने अझै नाम टुङ्गोमा पुगिसकेको छैन ।