इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको चयनको विषयलाई प्राथमिकतामा राखेका थिए । नेतृत्व चयनलाई सर्वसम्मत गर्न अधिकतम प्रयास गरिने तर सहमति हुन नसकेमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन हुने बताए । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्व र आगामी मिसन ८४लाई अहिले देखिनै गति दिने गति पार्टीलाई बलियो बनाउन सक्नु पर्ने बताए । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री भीम आचार्य र शेरधन राईले सुनसरी अन्य जिल्लाहरू भन्दा पृथक् विशेषता बोकेको जिल्ला रहेको बताए । सुनसरीलाई लाल किल्लाको रूपमा विकास गरेर जाने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिए । पूर्व मुख्यमन्त्री राईले शेरधन राई स्वार्थ बोकेर सुनसरी जिल्लाको इन्चार्ज भएर आएको आरोप लागेकोमा आफूलाई पार्टीको जिम्मेवारी दिएर मात्र आएको अन्यथा कुनै आफ्नै व्यक्तिगत स्वार्थ नभएको समेत बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले पार्टीको विधि प्रक्रिया र पद्धतिलाई सबैले अँगालेर जानु पर्ने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार नयाँ नीति तथा कार्यक्रम बनाउने चरणमा रहेकोले यस अघि बिग्रिएका विषयलाई आगामी नीति तथा कार्यक्रम र बजेटले सुधारेर लग्नु आफ्नोलागि चुनौती रहेको बताए । उनले कार्यक्रर्ताहरुलाई बजेट नीति तथा कार्यक्रममा सुझाव दिन पनि आग्रह गरे ।
पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सर्व सम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना गर्दै गएको ।छ सुनसरी अध्यक्षका लागि पार्टीका निलम खनाल र खेमराज पोख्रेलले आकाङ्क्षी देखिएका छन् । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनौट चुनावी प्रक्रियाबाट हुने देखिएको छ । अध्यक्षको आकाङ्क्षी खेमराज पोख्रेल यस अघि सातौँ जिल्ला अधिवेशनमा पनि पराजित भएका थिए । उनी रेवती रमण भण्डारीसँग पराजित भएका हुन् । निलम खनाल अहिलेका उपाध्यक्ष छन् ।
खेमराज पोख्रेल र निलम दुवै पार्टी अध्यक्ष निकट हुन् । अघिल्लो अधिवेशनमा पार्टी अध्यक्ष ओलीको निर्देशन विपरीत खेमराज अध्यक्षको प्रत्याशी भएपछि उनको सम्बन्ध ओलीसँग बिग्रिएको बताइन्छ ।
निर्वाचन भए ओलीको साथ वर्तमान उपाध्यक्ष खनाललाई रहने छ । यस अघि नै अध्यक्षले लाइन दिएपछि उनी अध्यक्ष बन्ने तयारीमा लागेका छन् ।
खनाललाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राई, वर्तमान अध्यक्ष रेवती रमण भण्डारी, केन्द्रीय सदस्यहरू लक्ष्मी गौतम, जगदीश कुसियैतले साथ दिएका छन् । खेमराज पोख्रेलको पक्षमा भने भीम आचार्य उभिएका छन् ।
यस्तै उनलाई १० बुँदे समर्थितहरूले साथ रहनेछ । यस अघि खेमराजलाई केन्द्रीय सदस्य तथा मन्त्री भगवती चौधरीले साथ दिएकी थिइन् । तर यस पटक भने उनी मौन छन् ।