इटहरी । नेकपा एमालेको सुनसरी जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीले आफूलाई हातपात गरेको प्रा.डा. बद्री विशाल पोख्रेलले आरोप लगाएका छन् । 
अध्यक्ष भण्डारीले हातपात गर्दा हातमा चोट लागेको प्रा.डा. पोख्रेलले बताए । पोख्रेलको हातमा चोट लागेर रगत बगेको छ ।  
अधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनको विषयमा भना भन हुँदा अध्यक्ष भण्डारीले धकेल्दै हातपात गरेको पोख्रेलले बताए । 
भण्डारीले मुक्का प्रहार गर्न खोजेको, धकेल्दा हातले छेक्न खोज्दा भण्डारीले लगाएको घडीले आफ्नो हातमा चोट लागेको उनले जानकारी दिए ।  
हातमा लागेको चोट देखाउँदै डा. पोख्रेलले भने,‘ भनाभन हुँदा भण्डारीले मुक्का हान्न खोजे, मैले छेक्न खोज्दा उनको हातमा लगाएको घडीले मेरो हातमा लाग्यो । घडीले चोट लाग्यो रगत बग्न थाल्यो ।’
थप झगडा हुने देखेपछि अन्य प्रतिनिधिले भण्डारीलाई तानेर लगेको पोख्रेलले बताए । 
हातमा चोट लागेपछि आफू अधिवेशन स्थलबाट बाहिरिएको उनले बताए । 
अधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको प्रतिवेदनमा प्रा.डा. पोख्रेललाई कारबाही गर्नुपर्ने कुरा उल्लेख छ । 
सो प्रतिवेदन उपर आपत्ति जनाउँदै जवाफ मागेपछि आफू माथि हातपात गरिएको पोख्रेलले आरोप लगाएका छन् । 
प्रस्तुत प्रतिवेदनमा स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पाटी उम्मेदवार विरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने कुरा उल्लेख गरिएको छ ।
 सोही विषयमा ‘अन्य  पाटी अनुशासन उल्लङ्घन गरी कारबाहीको प्रक्रियामा रहेको’ शीर्षकमा प्रा.डा. बद्री विशाल पोख्रेलको नाम पनि उल्लेख छ । पोख्रेलले सोही विषयमा आपत्ति जनाउँदै जवाफ मागेको बताएका छन् । 
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन इटहरीको लायन्स क्लबमा जारी छ । हिजो उद्घाटन भएको अधिवेशनको आजबाट बन्द सत्र सुरु भएको हो ।