सुनसरी । होटेल व्यवसायी संघ इटहरीमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । संघमा आबद्ध उपाध्यक्ष, कोषाध्यक्ष सहित केही असन्तुष्ट पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष जीवन पराजुलीले विधान विपरीत नियुक्त गरेका कार्यवाहक अध्यक्ष जयप्रसाद  उपाध्यायले मनोमानी गरेको आरोप लगाएका छन ।
    पराजुली इटहरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर गएपछि उनले बिधानत उपाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिई उपाध्यायलाई दिएपछि मनोमानी सुरु भएको उनीहरूको आरोप छ । इलामको श्रीअन्तुमा व्यवसाय गर्दै आएका उपाध्यायको इटहरीमा कुनै होटेल व्यवसाय नभएको र उनलाई पराजुलीले कार्यबहाकको जिम्मेवारी दिएर पुन विधान विपरीत अहिले महासचिवको जिम्मेवारी दिएको असन्तुष्ट पक्षको भनाई छ । महासचिव उपाध्यायले गत चैत्र २७ गते उपाध्यक्ष प्रकाश महतो, कोषाध्यक्ष बाबुराम गिरी र केही सदस्यलाई संघबाट निष्कासन गरेका थिए । विधान विपरीत अध्यक्ष पराजुली र उपाध्यायले पदाधिकारीलाई कारबाही गर्दै संघबाट निष्कासन गरेकाले आफूहरू विरोधमा उत्रिएको असन्तुष्ट पक्षले जनाएका छन् । 
IMG_4063
होटेल व्यवसायी संघ इटहरीको अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कोरम नपुगेको साधारण सभाबाट विधान संशोधनको हवाला दिँदै कुनै पनि स्पष्टिकरणको लिखित जवाफ समेतको मौका नदिई पदमुक्त गरिएको उपाध्यक्ष महतोले बताए । महतो लगायतका पदाधिकारीले संस्थाको साधारण सभा, पिकनिक जस्ता कार्यक्रम गर्दा विभिन्न मदिराजन्य पदार्थ उत्पादन/बिक्री गर्ने कम्पनीबाट लिएको सहयोग आम्दानी आयव्ययमा प्रस्तुत नगरी हिनामिना गरेको समेत आरोप लगाएका छन् । पराजुलीले अध्यक्षको अघिल्लो कार्यकालमानै नेपाल पर्यटन बोर्ड र होटेल व्यवसायी महासंघ नेपालको सहयोगमा सञ्चारित तालिम कार्यक्रम नाम मात्रैको स्वरूपमा आफ्नै होटेलमा सञ्चालन गरी विल मिलाई संस्थाको खातामा जम्मा हुनुपर्ने रकम आफ्नै होटेलको खातामा जम्मा गरी संस्थालाई आर्थिक हानी नोक्सानी पुऱ्याएकोले आन्दोलित बन्नुपरेको बताएका छन् । 
       पराजुली र उपाध्यायले हाल प्रचलित संस्थाको लेटर प्याडमा विधानमा व्यवस्था भएको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य हुने व्यवस्था बाहेक अनेक पद क्रियाशील गराएर विधान विपरीत काम गरेको होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवंम कोसी प्रदेशका निबर्तमान अध्यक्ष मणिन्द्र बहादुर कटुवालले बताए । आफ्नै कार्यकालमा बनेको विधानलाई तोडमोड गरेर गैर कानुनी गतिविधि हुनु दुखद भएको कटुवालको भनाई छ ।
जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले उपाध्यायले मनोमानी रूपमा जथाभाबी गर्दै हिनेपछी असन्तुष्ट पक्ष आन्दोलित हुनु स्वाभाविक भएको बताए ।
इटहरीमा साना तथा ठुला गरी ३ सय बढी होटेल रहेका छन् ।