इटहरी । टेँग्राखोलाले इटहरी वडा नम्बर १३ का बस्तीमा कटान गर्दा ६ घर विस्थापित भएका छन् । अन्य घरहरु पनि उच्च जोखिममा रहेका छन् । टेँग्राखोलामा आएको बाढिले किनाराका घरहरु भत्काएको हो । राती पुनः पानी परे अन्य घरहरु पनि भत्किने उच्च जोखिममा रहेको छ ।
विस्थापित भएका स्थानियहरु छिमेकीको घरमा बस्न थालेका छन् । बस्ती नै उच्च जोखिमा परेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी सहित जिल्ला स्थित विपत व्यवस्थापनको टोलीले अनुगन गरेको छ ।
जोखिममा परेका घरहरुलाई जोगाउन तथा बाढि नियन्त्रणका लागि काम भइरहेको इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प नारायण चौधरीले जानकारी दिए ।
यता,घर भत्किए पछि विस्थापित भएका परिवार तथा वडा नम्बर १३ का बासिन्दाहरुले वडा कार्यालय घेराउ गरेका छन् । खोलाले कटान गर्दै घर भत्काए पछि उनीहरु आक्रोसित हुँदै वडा कार्यलयमा घेराउ गरेका हुन ।
खोलाको अतिक्रमित क्षेत्र क्लियर गर्न तथा सफाइ गर्न उपमहानगरपालिकाले एक महिना अघि देखी टेँग्राखोला सफाइ अभियान चलाएको थियो । सो क्रममा जेसिबीले खनेको खोला किनाराका बस्तीमा सामान्य बाढिले नै कटान गर्न थालेको हो ।
खोला सफाइ गर्दा गहिरो खनेका कारण किनाराका घरहरु कटानमा परेको स्थानियले आरोप लगाएका छन् ।
इटहरी–१३ की देवीकुमारी कार्कीको घर भासिएको छ । घर जोगाउन लगाएको प्रोटेक्सन वाल खोलाले भत्काइदिएको छ । घर भत्किने जोखिम भएपछि परिवार छिमेकीको घरमा सरेको कार्कीले बताइन् ।
लगातार पानी पर्दा पानीको सतह बढ्ने र घट्ने क्रममा खोलाले बढि कटान गर्ने गर्छ ।
स्थानिय रञ्जु सरदारको घर पनि खोलाले कटान गर्न सुरु गरेको छ ।
त्यस्तै गंगा गौतमको घर पनि आधा भाग खोलाले कटान गरेको छ । यी दुवै परिवार अहिले विस्थापित भएका छन ।
स्थानिय तुलसा काफ्लेले सामान निकाल्न नपाइ घर भत्किएको बताइन् । उनी छिमेकी उषा सुवेदीको घरमा बस्न थालेकी छिन् ।
खोला सफाइ गर्दा जेसिबीले खनेको क्षेत्रमा आवश्यक सुरक्षाको उपाय नअपनाउँदा कमजोर बनेको माटो सामान्य बाढिले पनि कटान गर्न थालेको हो । यहि क्रम बढ्दै गए धेरै भौतिक क्षति हुने देखिन्छ ।