इटहरी । इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाइ गरेको उपमहानगरपालिकाले खेती खोलाको सीमा छुट्टाउने नाप जाँचलाई तीव्रता दिएको छ । 
उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेती खोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो । 
इन्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारी सहितको नाप जाँच टोली एक महिना देखी इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन् । 
टेँग्राखोला सफाइको काम अपेक्षाकृत रूपमा सफल भएको दाबी गरेको उपमहानगरपालिकाले सोही शैलीमा खेती खोला भित्र पर्ने अतिक्रमित संरचना भत्काउने र खोला सफाइ गर्ने बताएको छ । 
इटहरीमा कङ्क्रिटका भवनहरूले छोप्दै जाँदा खेती खोला हराउँदै गएको छ । सिमाना हराउँदै गएको खेती खोलाको सीमा खोजी गर्न प्राविधिक टोली अहिले घामपानी नभनी काममा खटिएको छ । 

दुई सय ४८ घर भत्किनेछन् 

khetikhola   (1)

अध्ययन समितिको असार ७ गते शुक्रवार सम्मको अध्ययन अनुसार खेती खोलामा दुई सय ४८ घर भत्किनेछन् । ती घरहरू खोलाको जग्गामा बनेका छन् ।  
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म र उत्तर तर्फ हलगडा सम्म नाप जाँच गर्दाको तथ्याङ्क हो यो । यो तथ्याङ्क अझ बढ्ने अध्ययन समितिले जनाएको छ । 
पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म २ सय २० घर भत्किने अवस्थाका छन् । उत्तर तर्फ हलगडा सम्म भने २० घर भत्किने देखिएको छ । उत्तर तर्फ नाप जाँच चलिरहेको हुँदा यस तर्फ पनि भत्किने घरको सङ्ख्या अझै धेरै हुन सक्छ । 
खोलाको क्षेत्राधिकार भित्र साना कच्ची घर देखी ठुला आरसिसी घरहरू पनि छन् । 
यस्ता घरहरू मध्ये केही घरहरू नक्सा पास भएका घरहरू पनि भएको अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए । 
यी क्षेत्रको अध्ययन गर्दा कतिपय ठाउँमा खोला भित्रै घरहरू छन् भने व्यक्तिको जग्गामा खोला बगिरहेको छ । 

कसरी हुँदै छ नाप जाँच 

इन्जिनियर,सर्भेयर,अमिन सहितको २२ जनाको टोली अहिले खेती खोलाका झाडी पन्छाउँदै खोलाको क्षेत्राधिकार र निजी जग्गा छुट्टाउँदै छन् ।
दैनिक जसो घामपानी नभनी प्राविधिक टोलीले खोलाको क्षेत्र र व्यक्तिको निजी जग्गा तथा घर छुट्टाएर चिन्ह लगाउँदै छन् । 
प्राविधिक समितिले २ किसिमले काम गरिरहेको वातावरण शाखाका प्रमुख तथा अध्ययन समितिका संयोजक पुष्प नारायण चौधरीले बताए ।  
जिल्ला नापी कार्यालयबाट प्राप्त भएको नक्साको आधारमा खोलाको क्षेत्राधिकार जाँच गर्दै छ । जसमा खोलाको क्षेत्राधिकार भित्र परेका घरहरूलाई रातो रगंले चिन्ह लगाइएको संयोजक चौधरीले जानकारी दिए । 
अर्को तर्फ प्राविधिक टोलीले हाल बगिरहेको खेती खोलाको आधारमा पनि सँगै जाँच गरिरहेको छ । खोला बगिरहेको खोलाको आधारमा खोला भित्र परेका घरहरूलाई भने पहेँलो रङले चिन्ह लगाइएको छ । 
एकै पटक दुई वटै तरिकाले नाप जाँच भइरहेको संयोजक चौधरीले जानकारी दिए । 
अहिले सम्म नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण तर्फ सुनसरी मोरङ सिचाई आयोजनाको नहर सम्म नाप जाँच भैसकेको छ । त्यस्तै पृतना हेडक्वाटर देखी उत्तर तर्फ भने हलगडा सम्म नाप जाँच भएको छ । नाप जाँच गर्ने क्रम जारी छ । 
नाप जाँच गरिसकेपछि प्राप्त भएको तथ्याङ्क तथा अध्ययनको निष्कर्ष सहितको प्रतिवेदन उपमहानगरमा बुझाइने वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले जानकारी दिए । यसका लागि अझै १५ देखी २० दिनको समय लाग्ने चौधरीको भनाई छ । 
प्रतिवेदन प्राप्त भएपछि उपमहानगरले गर्ने निर्णय पछि दोस्रो चरणको काम सुरु गर्ने उनले स्पष्ट पारे । 

५० वर्षको पानीको तथ्याङ्क अध्ययन 

khetikhola   (3)

सहर बिचबाट बग्ने खेती खोलामा हेर्दा सानो देखिन्छ । तर वर्षाको समयमा ठुलो बाढी नै आउँछ । खासमा खेती खोलामा कति पानी बग्छ त ? यो रोचक अध्ययन उपमहानगरले गर्दै छ । 
पछिल्लो ५० वर्षमा कति र कुन तह सम्म पानी बग्यो त्यसको प्राविधिक अध्ययन गरिरहेको अध्ययन समिति संयोजक चौधरीले जानकारी दिए । 
‘खेती खोलामा पछिल्लो ५० वर्षमा बगेको पानीको ट्रेन्ड के छ पत्ता लगाउने प्रयास गर्दै छौँ । पानीको ट्रेन्ड पत्ता लगाएर आउने समयमा कति पानी बग्न सक्छ भनेर अध्ययन गरिरहेका छौँ ’ संयोजक चौधरीले भने । 
उनले स्पष्ट पार्दै भने, ‘पाए सम्मको पानीको तथ्याङ्क, यहाँका पुराना रैथाने बासिन्दा, किसानहरूसँग कुराकानी गर्दै अध्ययन गरिरहेका छौँ ’ 
यो अध्ययनमा हाइड्रोलोजिकल इन्जिनियर, सिभिल इन्जिनियर, वरिष्ठ इन्जिनियर सहित सर्भेयर र अमिनको टोली खटिएको छ । यो टिमलाई वल्ड बैङ्कले पनि सर्पोट गरिरहेको छ । 
खेती खोलामा कति सम्म पानी बग्यो र अब कति मात्रामा पानी बग्न सक्छ भन्ने तुलनात्मक अध्ययन पछि मात्रै खोलाको चौडाइ किटान गर्ने उपमहानगरको योजना छ । 
खेती खोलाको चौडाइ कति तोक्ने भन्ने विषयमा फरक मत रहँदा यो विश्लेषणले सहयोग गर्ने संयोजक चौधरीको भनाई छ । 

संरचना हटाउन उपमहानगरको ताकेता 

notice khetikhola 1

उपमहानगरपालिकाले खेती खोलामा बनेका संरचना हटाउन दोस्रो पटक १५ दिने सूचना जारी गरेको छ । ज्येष्ठ २० गते दोस्रो पटक भन्दै १५ दिने सूचना निकालेको उपमहानगरले पहिलो ३५ दिने सूचना वैशाख २५ गते नै प्रकाशन गरेको थियो । 
संरचना हटाउन उपमहानगरले पटक पटक सूचना जारी गर्दै तोकेता गरिरहेको छ । 
खोला अतिक्रमण गरेर बनेका संरचना नहटाए डोजर चलाउने उपमहानगरले सार्वजनिक सूचना मार्फत सचेत गराएको छ ।  
खेती खोलाको दुवै किनारबाट ६÷६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए । 
टेँग्राखोलाको तुलनामा खेती खोला अतिक्रमण गर्ने घर धुरीको सङ्ख्या ठुलो निस्कने देखिएको छ । त्यस कारण पनि उपमहानगरले पटक पटक सूचना प्रकाशन गरी घरधनीलाई आफै संरचना भत्काउन तोकेता गर्दै आएको छ ।  

दीर्घकालीन समाधान 

इटहरीको डुबान रोक्न खेती खोलाको अतिक्रमित क्षेत्रलाई क्लियर गर्नै पर्ने संयोजक चौधरी बताउँछन् । 
२०७४ र २०७८को वर्षा र त्यस बेलाको बाढीलाई हेर्ने हो भने आर्मी ब्यारेक माथि पट्टि र दक्षिण तर्फ धेरै भौतिक क्षति भएको चौधरीले बताए ।
त्यस बेला बजार क्षेत्रका धेरैको पसल भित्र पानी पसेर सामान नष्ट भएको हामीले देखेको उनको भनाई छ ।
यस्तो समस्या प्रत्येक वर्ष जस्तो बारम्बार दोहोरिन सक्छ । बर्सेनि बाढी र डुबानको समस्या भोगी रहनुपर्छ । 
चौधरीले भने ‘त्यसैले यसको दीर्घकालीन समस्या समाधानका लागि कम भन्दा कम क्षति हुने गरी खोलालाई क्लियर गर्नुपर्छ ।’