सुनसरी - लामो रस्साकस्सी तथा विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । 
       नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट प्रस्तुत गरे । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेपछि प्रवक्ता समेत रहेका पोखरेललाई नगर सभा अध्यक्ष तथा नगरप्रमुख हेमकणर् पौडेलले जिम्मेवारी दिएका थिए । पोख्रेलले प्रस्तुत गरेको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत विराटनगर महानगरपालिकाको भन्दा झन्डै ८ करोड बढी हो । प्रस्तुत बजेटमा चालूतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगत तर्फ २ अर्ब १५ करोड ६० लाख रहेको छ ।
  त्यस्तै, इटहरी उपमहानगरपालिकाले लिएको ऋणको ब्याजका लागि ९० लाख वित्तीय व्यवस्था तर्फ बजेट व्यवस्थापन गरेको छ । पोख्रेलले पेस गरेको बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड बजेट र नगर स्तरका योजनामा ४५ करोड समेत समावेश गरिएको छ । बजेटले भौतिक पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाको विकास, समाज परिचालन र सामाजिक विकास, कृषि र उत्पादनमा जोड, बाढी नियन्त्रण एवं विपद् जोखिम न्यूनीकरणलाई जोड दिएको छ ।
धरान उपमहानगरको बजेट आउन सकेन
बजेटमै सहमति हुन नसकेपछि धरान उपमहानगरपालिको बजेट आउन सकेन । कार्यपालिकाले पारित गर्नुपर्ने बजेटमा सहमति नभएपछि नगर सभा अनिश्चित बनेपछि धरान उपमहानगरले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्न नसकेको हो । नगरप्रमुख हर्क साम्पाङ र उपमेयर सहित सबै कार्यपालिका सदस्यहरूबिच सहमति हुन नसक्दा धरानको नगर सभा अनिश्चित बनेको हो ।