सुनसरी - दुई दिनदेखीको अबिरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछी कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलीएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखी सबै ढोका खोलिएको हो । प्रतिसेकेण्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगीरहेको भण्डारीले जानकारी दिए ।

  आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसंगै निरन्तर अनुगमन गरिरहेको बताए । आफूहरुको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसंग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । 

    यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम बिज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्रमा सतर्क रहन सुसुचित गरेको छ ।