सुनसरी । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अङ्ग प्रदान गरेको छ ।
विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अङ्ग प्रदान गरेको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बुधवार आयोजित कार्यक्रममा कृत्रिम अङ्ग वितरणको उद्घाटन गरे ।
प्रमुख कोइरालाले महानगरले गर्ने कार्य मञ्चले गरेको भन्दै कृत्रिम अङ्ग वितरणको सराहना गरे ।
मञ्चका अध्यक्ष पुनम राठीले कार्यक्रममा ९ जनालाई कृत्रिम अङ्ग प्रदान गरिएको जानकारी दिइन् । 
WhatsApp Image 2024-07-10 at 02.56.36 (1)
यिनमा ४ महिला, ४ पुरुष र १ बालक छन् । जम्मा ९ मध्ये ३ जनालाई हात, ५ जनालाई खुट्टा र १ जनालाई पाइताला प्रदान गरिएको छ । अध्यक्ष राठीले वितरण गरिएका कृत्रिम अङ्ग विराटनगरको सिबिआर प्रोजेक्टले उपलब्ध गराएको बताइन् । सिबिआरले लामो समयदेखि फरक क्षमता भएका व्यक्तिका लागि काम गर्दै आएको छ ।
राठीका अनुसार कृत्रिम अङ्गका लागि अन्य प्राविधिक सहयोग पनि सिबिआरले नै गरेको हो ।
उनले मञ्चले कृत्रिम अङ्गका लागि ३ लाख रुपैयाँ खर्च गरेको र यो रकम गत वर्ष आयोजित श्रावणी मेलाबाट सङ्कलन गरिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘दुई वर्षअघि मैले पदभार ग्रहण गर्दा मानव कल्याणका क्षेत्रमा लामो समयसम्म देखिने गरी सेवाको केही काम गरौँ भन्ने सोचेकी थिएँ । आज यो सोचाइले मूर्त रूप पाएको अनुभव गरेकी छु ।’
राठीले कृत्रिम अङ्गको मद्दतबाट ९ जनकौ दैनिक जीवन सहज र उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
WhatsApp Image 2024-07-10 at 02.56.36
सिबिआर प्रोजेक्टका अध्यक्ष कन्नु लाल चौधरीले फरक क्षमता भएका मानिसलाई प्रोजेक्टले कृत्रिम अङ्गको सहयोग निरन्तर जारी राख्ने उल्लेख गरे ।
अध्यक्ष चौधरीले एउटा सानो कृत्रिम अङ्गका अभावले मानिसले बर्सौंसम्म दुःख पाएको आफूले देखेको चर्चा गर्दै यस्तो वितरणले मानिसको जीवनशैलीमै आमूल परिवर्तन हुनसक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा, अखिल भारत वर्षीय माहेश्वरी महिला मञ्चका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडाले आआफ्नो मन्तव्य व्यक्त गरे ।