सुनसरी - धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेको छ । यसअघि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरू बिच विवाद उत्पन्न भएर निर्धारित समयमा बजेट पेस गर्न नसकेको उपमहानगरले आइतबार सुरु १५ औँ नगर सभामा उपप्रमुख अईन्द्र विक्रम बेघाले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ । आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक  राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २ सय ८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख र प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । उक्त अनुमान मध्ये २० वटै वडातर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी  हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
        उपप्रमुख बेघाले विभिन्न शीर्षकमा विभाजन गरी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेका हुन । शिक्षा युवा तथा खेलकुद तर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजार समेत गरी ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य तर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संशोधन गर्न सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजार समेत गरी ८ करोड ३ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ । सामाजिक विकास तर्फ सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न  करोड ४१ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक विकास तर्फ अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि, पशु, सहकारी र उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार समेत गरी १ करोड ८४ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।
drn sava pic
बन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापन तर्फ वातावरण, ऊर्जा, जलवायु अनुकूलनका कार्यहरू, विपद् व्यवस्थापनको पूर्व तयारी सम्बन्धी लगायतका काम र विपद् व्यवस्थापन कोषको लागि आन्तरिक स्रोताबाट व्यहोरिने १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । पर्यटन तर्फ धार्मिक, सांस्कृतिक तथा बहु जातीय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न छनौट भएका कार्यहरूका लागि भन्दै २७ लाख ५० हजार र सशर्त अनुदान समेत गरी ९० लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि आन्तरिक स्रोतबाट २५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कानुन तथा न्याय सम्पादन तर्फ आन्तरिक स्रोतबाट १० लाख बजेट विनियोजन गरिएको छ । उपमहानगरले सार्वजनिक जग्गा संरक्षण तर्फ पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट २० लाख बजेट विनियोजन गरिएको छ ।