इटहरी । गत आर्थिक बर्ष २०८०।८१मा सुनसरीमा सञ्चालनमा रहेका दुई सय चार उद्योग खारेजीमा परेका छन् ।
आर्थिक मन्दीका कारण बन्द भएका तथा नियम अनुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला उद्योगहरु खारेजी गरिएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा साना तथा मझौला गरी करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेले जानकारी दिए ।
आर्थिक मन्दीको असर भन्दै केही उद्योगहरु बन्द तथा खारेजी गरिएको प्रमुख लामिछानेले बताए । उद्योगहरु बन्द भएपनि नयाँ खुल्ने क्रम पनि चलिरहेको प्रमुख लामिछानले बताए ।
उनका अनुसार गत आर्थिक बर्षमा सुनसरीमा ५ सय ६६ नयाँ उद्योगहरु थपिएका छन् । नयाँ उद्योग थपिदा १८ लाख ८६ हजार राजश्व संकलन भएको छ ।
यस्तै गत आर्थिक बर्षमा सनुसरीका १ सय २४ साना तथा मझौला उद्योगहरुले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायहरुले कुल ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन ।
गत आर्थिक बर्षमा घरेलु कार्यालय सुनसरीले २ करोड १५ लाख १ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका प्रमुख हरि लामिछानले जानकारी दिए ।
कार्यालयले उद्योग तर्फ १ करोड १ लाख ७४ हजार २६० यस्तै वाणिज्य तर्फ १ करोड १२ लाख ५७ हजार ५४० र विक्रि आयबाट ७० हजार गरी कुल २ करोड १५ लाख १ हजार ८ सय रुपैँया राजश्व संकलन भएको लामिछानेले जानकारी दिए ।
सुनसरीमा सञ्चालनमा धेरै उद्योग तथा व्यवसायहरु सञ्चालनमा भए पनि नविकरण गर्नेको संख्या भने कम देखिएको छ । गत आर्थिक बर्ष २०८०।८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नविकरण गरेका छन् । नविकरणबाट कार्यालयले ६७ लाख ८ हजार राजश्व संकलन भएको घरेलु कार्यालय सुनसरीले जनाएको छ ।
गत आर्थिक बर्षमा २४ उद्योगहरुले ठाँउसारी गरेका छन् भने ६५ उद्योगहरुले नामसारी गरेका छन् ।