विराटनगर । पिपलको रुख मुनी केही मानिसहरू भेला भएका छन्  । कोही गाडीमा त्यहाँ पुगेका, कोही हिँड्दै आएका अनि कोही आफ्ना साना बाबु नानी च्यापेर  त्यस पिपलको बोट मुनी भेला भएकाहरू  आमा र बच्चाका समस्याको बारेमा छलफल गर्दै थिए । धनपालथान गाउँपालिका वडा नम्बर २ स्थित ठनठनियाँ बस्तीको बजरंगबली हनुमान मन्दिरसँगै रहेको पिपलको रुख मुनी त्यहीँ गाउँको लालीगुराँस आमा समूहको बैठक चल्दै थियो । आमा समूहका २४ जना आमाहरू र अरू गाउँका महिलाहरूको उपस्थिति देखिन्थ्यो ।
aamasamuha (4)
बैठक बसिरहेको ठाउँमा पुगेका थिए जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई तथा उपप्रमुख उषा झा सहितको टोली । आमा समूहको बैठक बसिरहेको स्थलमा पुग्नेमा जिल्ला स्वास्थ्य कार्यालय मोरङका अधिकृत उत्सव पोखरेल र अनिलकुमार देव, गैसस महासङ्घका नवराज निरौला, पत्रकार महासङ्घका नेत्रपी अधिकारी, फेयरमेड फाउन्डेसनका शोभा गुरुङ, विश्वास परियोजना सहारा नेपालका पवनकुमार राई तथा शौरभ बगाले र  करुणा फाउन्डेसनकी अम्बिका सरदार पनि त्यही आमा समूहको बैठकको लाइनमा गएर बसे । आमा समूहको बैठकको सहजीकरण गर्दै थिइन् सामाजिक स्वास्थ्य परिचालक उषा ऋषिदेव । आमा समूहको बैठकमा उनैले स्वास्थ्य, सरसफाइ, आमा र शिशुको हेरचाह लगायतको बारेमा जानकारी दिने गर्छिन् ।
aamasamuha (3)
आमा समूहमा छलफल हुँदै गर्दा समूहकी सदस्य स्वास्थ्य स्वयम् सेविका  रम्भादेवी मण्डलले त्यहाँ रहेका आमाहरूलाई गर्भावस्थाका समस्या, स्वास्थ्य संस्थामा गएर आठ पटक अनिवार्य परीक्षण गर्नु पर्ने, बच्चा जन्मिएपछि परीक्षण र खोप लगाउनु पर्ने बारेमा बताउँदै थिइन्  । आमा समूहमा भएको यो छलफल नियाली रहेका जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले  आमा समूहको कामको प्रशंसा गर्दै यस्ता समूहहरू टिकाएर जानु  पर्ने बताए । उनले आमा समूहलाई प्रभावकारी बनाउन आमा समूहबाट नै कोष सङ्कलन गर्ने व्यवस्था गरेर जान सकिए दिगो र टिकाउ हुने बताए । 
जिल्ला समन्वय सििमति मोरङ  उपप्रमुख उषा झाले समुदाय अनुसार सरसफाईका अभियानहरू चलाइनु पर्ने बताइन् । उनले घर भित्र त्यसमा पनि भान्साको सरसफाइ देखि समुदायको सरसफाईको बारेमा आमाहरूलाई प्रशिक्षण तथा जानकारीको खाँचो रहेकोले त्यस्ता विषयहरू सिकाउनु पर्ने उल्लेख गरिन् ।  
aamasamuha (1)
फेयरमेड फाउन्डेसनको सहयोगमा सहारा नेपाल र करुणा फाउन्डेसनले सञ्चालनमा ल्याएको विश्वास परियोजनाको बारेमा अनुगमन गर्न जिल्ला स्तरीय अनुगमन टोली त्यहाँ पुगेको थियो । त्यहाँ पुगेको टोलीले आमा समूहसँग स्वास्थ्य र सरसफाइको बारेमा जानकारी लिनुको साथै आमा समूहको प्रभावकारिता, आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारेमा पनि छलफल गरेको विश्वास परियोजना सहारा नेपालका कार्यक्रम संयोजक पवनकुमार राईले बताए । अनुगमन टोलीले जहदा गाउँपालिका वडा नम्बर २ वैरिया सिमरिया स्थित झोलुङ्गे पुल टोलकी ४५ वर्षीय सिङ्गो मरण्डीलाई समेत भेटेको थियो । मरण्डीको हात्तीपाइलेका कारण खुट्टाको अप्रेसन गरेर अहिले ३ महिना पछि घर फर्काइएको छ ।  
WhatsApp Image 2024-08-01 at 14.03.34

परियोजनाले समुदायमा आधारित भएर मोरङ जिल्लाका ७ वटा पालिका र झापाको १० पालिकामा काम गर्दै आएको छ भनेँ स्वास्थ्यमा आधारित कार्यक्रम झापा र मोरङ जिल्लाका सबै पालिकामा सहारा नेपालले गर्दै आएको छ। विश्वास परियोजना अन्तरगत सहारा र करुणा फाउन्डेसनले उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपाङ्गता  भएका व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन र पछाडि परेका समुदायको स्वास्थ्य व्यवहार परिवर्तनमा सुधार ल्याउन काम गर्दै आएको छ ।