इटहरी । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उप महानगरमा कार्यरत तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले १२ हजार रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले स्ट्याटसमा लेखेका छन्‘ रु १२ हजार बाँडेर खाएको भन्ने बुझेपछि ३ जना कर्मचारीलाई निकाल्दिएको छु । आन्दोलन नगर्नु है यो विषयमा चाँही ।’धरानमा खानेपानीको शुल्क वृद्धिका विषयमा आन्दोलन चलिरहेको बेला साम्पाङ्गले तीन जना कर्मचारीलाई निकालेका हुन् । उनले कहाँ र कसरी पैसा खाए भन्ने चाँही खुलाएका छैनन् ।
उनले निकालिएको भनिएका कर्मचारीहरूमा इन्जिनियर देशकुमार राई, खरिदार सञ्जीव दाहाल र समीर पौडेल हुन् । ती मध्ये एक जना कार्यालय सहायक हुन् । कार्यालय सहायकको रूपमा करारमा नियुक्त भए पनि समीर पौड्याललाई स्टोर किपरको जिम्मेवारी दिइएको थियो । पौड्याल बाहेक इन्जिनियर देशकुमार र खरिदार सञ्जीव भने स्थायी कर्मचारी हुन ।
उनीहरूले के बापत पैसा लिएका थिए र त्यो अनियमित भएको प्रमाणित गर्न के प्रक्रिया अपनाइयो त्यस बारे प्रमुख सम्पाङको स्ट्याटसमा उल्लेख छैन । धरानका उप मेयर आइन्द्र विक्रम बेघाले भने नगर प्रमुखले पत्र दिएको भन्ने जानकारी आएको बताए । उनले भने, कहाँ र कसरी खाए भन्ने बारेमा मलाई थाहा छैन । उहाँले के आधारमा पत्र दिनु भयो भन्ने पनि जानकारी नभएको बेघाले बताए ।
कर्मचारी निष्कासनका विषयमा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भूपेन्द्र राईले आफूलाई यस विषयमा कुनै जानकारी नआएको बताए । उनले भने कर्मचारी नियुक्त गर्ने र निकाल्ने अधिकार मलाई छ । कर्मचारी निष्कासनका बारेमा मलाई कुनै जानकारी छैन ।