विराटनगर । धरानमा खानेपानीको शुल्क र महसुल वृद्धिको आन्दोलन चर्किँदै गएपछि मेयर हर्क साम्पाङ्गले १० दलहरुलाई औपचारिक रूपमा वार्ताका लागि आव्हान गरेका छन्। खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर साम्पाङ्गले पत्र मार्फत औपचारिक रूपमा वार्तामा बोलाएका छन् । उनले वार्ताका लागि आव्हान गरेसँगै दलहरूले वार्ताका लागि तयारी गरेका छन् । यस अघि साम्पााङ्गले आन्दोलन भएकै स्थानमा उभिएर बिहीबार वार्ताका लागि आव्हान गरेका थिए ।
उनले वार्ताका लागि आव्हान गरिरहँदा दल सहित विद्यार्थीहरूले धरान उप महानगरको कार्यालयमा घेराउ गरिरहेका थिए । बिहीबार विद्यार्थीहरूले खानेपानीको धारा जडान, नामसारी र महसुल वृद्धिको विरोधमा उप महानगर घेराउ गर्दा तोडफोड समेत भएको थियो । आज पनि कार्यालय खुल्न साथ कार्यालय घेराउ गरिएको एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ्गले बताए ।
उनले वार्ताका लागि औपचारिक रूपमा वार्ताको आव्हान भएसँगै १० दलको बैठक बसेर वार्तामा जाने बताए । उनले भने हामी वार्ताका लागि तयार छौ । मेयरले वार्तामा बोलाएसँगै जाने तयारी भएको बताए ।
खानेपानी व्यवस्थापन बोर्डले धरानमा खानेपानीको धारा जडान, मृतकबाट नामसारी लगायतको धारा जडानको शुल्कमा मनपरी शुल्क वृद्धि गरेका थिए । यस्तै खानेपानीको महसुलमा समेत साउन १ गतेबाट लागू हुनेगरि वृद्धि गरेका थिए । शुल्क र महसुल वृद्धिको विरोधमा धरानमा निरन्तर आन्दोलन भइरहेको छ ।