इटहरी  । नयाँ नेतृत्व चयनका विषयमा अनेरास्ववीयु सुनसरीमा विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएसँग सुनसरीमा अनेरास्ववीयुका दुई वटा कमिटी बनेका छन् । एउटा कमिटीको अध्यक्षमा उज्ज्वल सिग्देल छन् भने अर्को कमिटीको अध्यक्षमामा शेखर रेग्मीको नाम छ ।

अनेरास्ववियु सुनसरीको साउन ४ र ५ गते २३ औ जिल्ला अधिवेशन भएको थियो । अनेरास्ववीयुका केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेको अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि स्थगित भएको थियो । अधिवेशनले ५१ सदस्यीय प्लेन कमिटी गठन गरेको थियो । प्लेन कमिटीबाट सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै बन्द सत्र सकिएको तिन साता पछि एकै पटक दुई वटा कमिटी गठन भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रदेश अध्यक्ष जीवी गजलले एउटा र केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले अर्को कमिटी घोषणा गरेपछि सुनसरी अनेरास्ववीयुको विवाद सतहमा आएको हो । दुवैले प्लेन कमिटीको बहुमतबाट पदाधिकारी छनौट गरिएको दाबी गरेका छन् ।

पदाधिकारी चयनमा विवाद उत्पन्न भएर नेतृत्व चयन नगरी अधिवेशन सम्पन्न भएपछि एमाले सुनसरीले यस विषयमा कार्यदल समेत बनाएको थियो । कार्यदलको सुझावका आधारमा उज्ज्वल सिग्देलको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको प्रदेश अध्यक्ष गजलले दाबी गरे ।

उनले साउन २६ गते पदाधिकारी घोषणा गरेका हुन् । उनले घोषणा गरेको कमिटीको उपाध्यक्षमा शेखर रेग्मी, आदित्य खड्‌का, सुनिल सुब्बा छन् । सुरज भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् भने सह सचिवमा चित्रमान राई,अरुण चौधरी र आदर्श पोखरेल चुनिएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी मन्दिरा लिम्बुले पाएकी छन् । बाँकी सदस्यहरू भूगोल, जात तथा लिङ्गका आधारमा समावेशी रूपमा छनौट गरिएको गजलले बताए । उनले प्लेन कमिटीका बहुमत सदस्य र पार्टीको लाइन अनुसार आफूले पदाधिकारी चयन गरेको दाबी गरेका छन् ।

उनले भने, ‘मैले पार्टीको लाइन अनुसार र बहुमत सदस्यको हस्ताक्षरमा पदाधिकारी छनौट गरेको हो । यसमा कुनै विवाद छैन । कसैले नाम राख्दैमा अर्को कमिटी बन्दैन ।’ आफूले घोषणा गरेको कमिटी आधिकारिक भएको उनले दाबी गरे । उनले सङ्गठनको नीति विपरीत नाम घोषणा गर्ने बिषय कारबाही योग्य भएको बताए । गजलले पदाधिकारी चयन भएको घोषणा गरेसँगै केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले शेखर रेग्मीको अध्यक्षतामा नयाँ समानान्तर कमिटी घोषणा गरेका छन् ।

रेग्मीले साउन २७ गते घोषणा गरेको कमिटीको उपाध्यक्षमा उज्ज्वल सिग्देल सन्तोष तामाङ छन् भने सचिवमा आदर्श पोख्रेललाई जिम्मेवारी दिइएको छ । रेग्मीले घोषणा गरेको कमिटीमा सह सचिवमा एनिस रेग्मी, रुजु राई, इबेश डाँगी र चित्रमान राईको नाम छ । कोषाध्यक्षमा सङ्कल्प खतिवडा र कार्यालय सचिवको जिम्मेवारी सुनिल सुब्बालाई रेग्मीले जिम्मेवारी दिएका छन्।उनले बहुमत सदस्यको उपस्थितिमा कमिटी गठन गरेको दाबी गरेका छन् ।

एमाले सुनसरी सचिव राम कोइरालाले पार्टीसँगको सल्लाह अनुसार प्रदेश अध्यक्षले बहुमत सदस्यको सहमतिमा पदाधिकारी चयन गरेको बताए । उनले गजलको कमिटी आधिकारिक भएको बताए ।