विराटनगर । जनमत पार्टीबाट सामान्य प्रशासन मन्त्री बनेकी अनितादेवीका राजनीतिक सल्लाहकार भएका झापाका बुद्धि न्यौपाने मानव तस्करीको आरोपमा पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका वडा नम्बर १ घर भएका न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरी घाटबाट सोमबार पक्राउ गरिएको हो ।
नेपाली काङ्ग्रेस कमल गाउँपालिकाको सभापति भएका न्यौपाने पार्टीले कारबाही गरेपछि जनमत पार्टीमा लागेका थिए । जनमत पार्टीमा लागेको छोटो समयमै उनी अनितादेवीको राजनीतिक सल्लाहकारमा नियुक्ति भएका थिए । अनिता साउन २९ गते प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी थिइन् ।
उनी मन्त्री भएका बेला राजनीतिक सल्लाहकार नियुक्त भएका न्यौपानेलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनले मौरिससमा मासिक २० हजार रुपैयाँ कमाई हुने प्रलोभन देखाउँदै एक जना युवतीलाई विदेश पठाएका थिए ।
उनले ती युवतीसँग मौरिसस पठाए बापत २ लाख ५० हजार रुपैयाँ लिएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । मिश्रका अनुसार न्यौपानेले माघ १३ गते ती युवतीलाई भारातको बाटो हुँदै मौरिसस उडाएका थिए ।
मौरिसस गएपछि ग्रिन कार्ड समेत बनाइदिने आश्वासन दिएका न्यौपानेले ती युवतीलाई मौरिससका एक नागरिकलाई बेचेको खुलेको छ । ती युवतीलाई मौरिससमा एक घरमा घरेलु कामदारको रूपमा पठाएको अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार ती युवतीलाई घर धनीले मानिसिक र शारीरिक यातना दिएपछि उनी भागेर पोर्चुगल पुगेकी थिइन् ।
पोर्चुगलमा रहेका नेपालीको सहयोगमा नेपाल फर्किएकी ती युवतीको किटानी जाहेरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक मिश्रले बताए । युवती असार २० गते नेपाल आएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन् ।
पक्राउ परेका न्यौपानेले काँग्रेस नेता कृष्ण सिटौलाको सचिवालयमा बसेर समेत काम गरेका थिए । सिटौला गृह मन्त्री हुँदा उनी स्वकीय सचिव समेत भएको झापाका काङ्ग्रेस नेताहरू बताउँछन् ।
उनले सिटौलाको सचिवालयमा बसेर काम गर्दा समेत गैर कानुनी काम गर्न थालेपछि उनलाई सिटौलाको सचिवालयबाट हटाइएको थियो । न्यौपानेलाई सचिवालयबाट हटाइए पनि उनी काङ्ग्रेसको राजनीतिमा भने सक्रिय थिए ।
उनले कमल गाउँपालिकाको सभापतिका भएको निर्वाचनमा निर्वाचनमा खगेन भण्डारी र उनको बराबरी मत आएको थियो । बराबरी मत आएपछि आधा आधा कार्यकाल बाँड्ने सहमति भएको थियो ।
सहमति अनुसार सभापति भएका न्यौपाने स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार हुकुमसिंह राईलाई असहयोग गरेको आरोप लागेको थियो । सोही आरोपका आधारमा उनलाई काँग्रेसले कारबाही गरेको थियो ।