इटहरी । वीपीका साहित्य माथी बहस गर्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) को वीपी सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
अघिल्लो बर्ष पनि इटहरीमा वीपीद्धारा लेखिएका साहित्य माथी विर्मश गर्ने कार्यक्रम काँग्रेस क्षेत्र २ ले आयोजना गरेको थियो । सोही कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको हो ।
वीपी कोइरालाको १११ र्औँ जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम आयोजना गरेको काँग्रेसले अन्तिम कार्यक्रमको रुपमा ‘वीपी साहित्य सन्ध्या’ कार्यक्रमको आयोजना गरिएको हो ।
इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिरमा आयोजना गरिएको कार्यक्रमको पहिलो चरणमा चार जना कविहरुले दुई दुई वटा कविता वाचन गरेका थिए ।
कवि बद्री भिखारी, देवान किराती, सीमा आभास र हेमन यात्रीले कविता वाचन गरेका थिए ।
दोस्रो सत्रमा ‘वीपी बोध’ शीर्षक बहस भएको थियो । कवि मनु मञ्जिल र प्रज्वल पराजुलीले वीपी र वीपीका रचनाका विषयमा चर्चा गरेका थिए । कवि मनु मञ्जिलले वीपीको व्यक्तित्व, राजनीतिक उचाई र नेपाली साहित्य योगदानको विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले सटिक टिप्पणी राख्दै यस्ता कार्यक्रमले समाजसँग पार्टीलाई जोड्ने बताए । धेरै पछि आफुले पनि कविता सुन्दा बेग्लै आनन्द आएको कोइरालाले बताए ।
कार्यक्रममा आयोजक कमिटिका सभापति सुबेक्छु देवानले सप्ताह कार्यक्रम गत वर्ष पनि आयोजना गरिएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको बताए ।
उनले सप्ताहको पहिलो कार्यक्रम रामधुनीमा वृक्षारोपण, दोस्रो कार्यक्रम ‘कंग्रेस रन–२०८१’ र सप्ताह कार्यक्रम ‘वीपी साहित्य सन्ध्या’ आयोजना गरिएको जानकारी दिए ।
‘राजनीतिमा लाग्नेहरूले वीपीको राजनीतिक कारण मात्रै खोज्ने होइन, साहित्य पनि पढ्नुपर्छ भन्ने प्रेरित गर्न पनि यो कार्यक्रम आयोजना गरिएको हो,’ देवानले भने, ‘वीपीलाई हामीले एक जुनीमा बाँचेर सकिन्न, वीपीलाई आम मानिसले पढ्ने मात्रै होइन, बाँच्नुपर्छ ।’
सोमबारको कार्यक्रम प्रदीप केसीको संयोजकत्वमा सम्पन्न भएको थियो भने एक सय ११ वटा दीप प्रज्वलन गरी वीपीलाई स्मरणसमेत गरिएको सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।