सुनसरी । कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको अस्थायी कार्ड वितरण सुरु गरेको छ । 

कोशी प्रदेश सरकारले स्थायी (स्मार्ट) कार्ड छपाई नगरुन्जेल सम्मका लागि अस्थायी रुपमा अनुमति पत्र वितरण सुरु गरिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्युआर कोड सहितको अस्थायी सवारी चालक अनुमतीपत्र वितरण गरेको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यलय इटहरीमा आयोजित कार्यक्रममा मोरङ र सुनसरीका चार जना सेवाग्राहीलाई अस्थायी सवारी चालक अनुमती पत्र बितरण गरेर कार्यक्रमको सुरुवात गरेका हुन । 

सवारी चालक अनुमतीपत्रको प्रयोगात्मक परिक्षा पास गरेका सेवाग्राहीले २ बर्षसम्म पनि कार्ड प्राप्त गर्न नसकेको अवस्थामा रसिदलाई नै लाइसेन्सको रुपमा बोकेर हिड्नुपर्ने बाध्यतालाई हटाउन अस्थायी कार्ड बितरण गरिएको बिभागका निर्देशक मुकेश रेग्मीले बताए ।

गत  साउन ३२ गते संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले स्थायी कार्ड छाप्न लाग्ने समय सम्मका लागि प्रदेश सरकारले अस्थायी कार्ड छापाई गरी वितरण गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयको कार्यान्वयन गर्दै कोशी प्रदेश सरकारले अस्थायी सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको हो ।  

कोशी प्रदेशमा हाल ७ वटा सवारी चालका अनुमति पत्र जारी गर्ने यातायात व्यवस्था तथा सेवा कार्यालयहरु रहेका छन् । यी कार्यालयहरुले मासिक रुपमा करिब १८ हजार सवारी चालक अनुमति पत्र(नयाँ ,वर्ग थप, प्रतिलिपी समेत) जारी हुने गरेको छ । 

हाल वितरण सुरु गरेको अस्थायी कार्डको अवधी एक बर्षको हुने र फोटो तथा क्युआरकोड समेत हुने भएकाले दुरुपयोग रोकिने बिश्वास गरिएको छ ।