इटहरी । इटहरीमा रहेको इटहरी खानेपानी उपभोक्ता संस्थाको साधारण सभामा कुर्सी हानाहान भएको छ । विहिबार संस्थाको सभाहलमा आयोजित २० औँ बैठक तथा साधारण सभा चलिरहँदा परिषद सदस्यहरु बिच कुर्सी हानाहान भएको हो । 

संस्थाका महासचिव शालिकग्राम ढकालले बैठक सञ्चालन गरिरहँदा परिषद सदस्यहरु बिच विवाद सुरु भएको थियो ।

बैठकमा उपस्थित नेकपा एमाले पक्षिय परिषद सदस्य र नेपाली काँग्रेस पक्षीय परिषद सदस्यहरु बीच विवाद बढ्दै गएपछि एक अर्कामा कुर्सी प्रहार भएको थियो । घम्साघम्सी र कुर्सी प्रहार भएपछि बैठक केही समय रोकिएको थियो । 

पछि पुनः सुरु भएको बैठकलाई कार्य समितिले एक पक्षिय रुपमा अगाडि बढाएको नेपाली काँग्रेस पक्षका परिषद सदस्यहरुले आरोप लगाएका छन् । 

बैठक अगाडि बढेपछि काँग्रेस पक्षका सदस्यहरुले साधारण सभा बहिस्कार गरेर हिँडेका थिए । 

कसरी सुरु भयो विवाद ? 

संस्थाका महासचिव ढकालले बैठकमा प्रस्ताव पेश गरेका थिए । ९ वटा प्रस्ताव पेश गरेपछि फ्लोरबाट काँग्रेस पक्षका परिषद सदस्यहरुले सभा सञ्चालन कार्यविधि अनुसार नभएको भन्दै विरोध गरे । 

संस्थाको विधान समयअनुकुल नभएको भन्दै  विधान संशोधन गर्नुपर्ने प्रस्ताव पेश गरे । संस्थाको अध्यक्ष सहित कार्यसमिति प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने,वडा समितिलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने लगायतका माग सहितको विधान संशोधनको प्रस्ताव पेश गरियो । 

तर कार्यसमितिले विधान संशोधनको विषयलाई प्रस्तावमा राख्न मानेन । त्यसपछि काँग्रेस पक्षका सदस्यहरुले उठेर विरोध जनाउँदै बोल्न थाले । 

महासचिव र सदस्यहरु बीच सवाल जवाफ हुन थाले पछि एमाले पक्षका परिषद सदस्य उठेर विरोध जनाए । त्यसपछि एमाले र काँग्रेस पक्षका सदस्यहरु बिच वादविवाद सुरु भयो । त्यसै क्रममा विवाद बढ्दै गएपछि एकले अर्कालाई कुर्सी उचालेर हान्न थाले । 

संस्थाको विधान संसोधन प्रस्ताव राख्न नमानेपछि विवाद सुरु भएको नेपाली काँग्रेस पक्षका परिषद सदस्य दिपक दाहालले जानकारी दिए । 

उनले भने,‘ साधारण सभा नै फरक ढंगले चल्दा कार्यविधि अनुसार सञ्चालन गर्न माग गयौँ । त्यो पनि भएन । पछि विधान समय अनुकुल नभएकाले प्रत्यक्ष निर्वाचित अध्यक्ष सहितको कार्यसमिती चयन गर्नुपर्ने प्रस्ताव पेश गरियो । तर सुनुवाई भएन । ’

‘प्रस्तावको विषयमा छलफल नै नगरि हुन्छ कि हुन्छ भन्दै हात उठाउन लगाइयो । उहाँहरु धेरै हुनुहुन्छ । हाम्रो मागलाई दबाउन खोजियो ’ दाहालले भने । 

यता, खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष प्रेम बस्नेतले साधारण सभामा समान्य विवाद मात्रै भएको बताए ।

परिषद सदस्यहरुले उठाएको विषय बहुमतले अस्वीकार गरेपछि बैठक नियमित रुपमा सञ्चालन भएको उनले जानकारी दिए । 

साधारण सभाले बैठकमा पेश भएका नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन लगायतका सबै ९ वटै प्रस्ताव बहुमतले पारित भएर सम्पन्न भएको बस्नेतले बताए । 

‘विवाद गर्न खोज्ने परिषद सदस्यहरुले विधान संशोधनको प्रस्ताव राख्नुभयो । हामीले बहुमतबाट प्रस्ताव ल्याउन भन्यौँ । तर सभाको बहुमतले प्रस्ताव अस्वीकृत गरेपछि सो विषयलाई अगाडि लान सकिएन’ उपाध्यक्ष बस्नेतले स्पष्ट पारे । 

उनले थपे,‘ उहाँहरु विवाद गर्न खोज्ने मनसायमा हुनुहुन्थ्यो । अगाडि देखी नै यो थाहा पाएका थियौँ । आउनु भयो । प्रस्ताव अस्वीकार भएपछि बहिस्कार गरेर जानु भयो । भएको यत्ति हो । त्यसपछि बैठकले सबै विषय बहुमतले पारित गर्यो ।’

खानेपानी उपभोक्ता संस्थामा १८३ परिषद सदस्य रहेका छन् । जसमा नेकपा एमालेको बहुमत छ । एमालेको नेतृत्वको कार्यसमिति र बहुमत परिषद सदस्य रहेका छन् ।  एमाले बाहेकका अन्य दलहरुबाट केवल ५० जना परिषद सदस्य निर्वाचित भएका थिए ।