विराटनगर । २४औँ राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा सुरु भएको छ। देश भरीका  दन्त चिकित्सकहरू सहभागी हुने सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।  मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी रूपमा नै समाधान गर्ने काम प्रदेशबाट भएको बताए । 
मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।  ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौँ, उनले भने, स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेका छन्, समस्या समाधानमा सरकारले चासो दिएको छ ।’  
प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाई रहेको उनको भनाई छ । उनले स्वास्थ्य ऐन मार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताए ।
नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकीय क्षमतालाई बढाएर काम गर्नुपर्ने  बताए । सम्मेलनमा देशभरका करिब चार सय दन्त चिकित्सक भेला भएका छन् । सम्मेलनमा १६ जना वरिष्ठ दन्त चिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुति गर्ने तयारी छ । सम्मेलनबाट आगामी दिनमा गर्न सकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जनाएको छ। 
सम्मेलनमा दाँत सम्बन्धी उपचारका मेसिन र विभिन्न प्रविधि सम्बन्धी उपकरणहरू समेत प्रदर्शन गरिएका छ ।