विराटनगर । विराटनगर महानगरपालिकाले १७ वटा बाल विकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । 
महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रवार बसेको शिक्षा समितिको बैठकले बाल विकास केन्द्रका दरबन्दी महानगरमा  राखी बाल विकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको हो । समुदायमा सञ्चालित बाल विकास केन्द्रहरूमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको बैठकले बाल विकास केन्द्रलाई अन्य विद्यालयहरूमा समायोजन गर्ने निर्णय गरेको हो । बैठकले विराटनगर–१ स्थित सिर्जना बाल विकास केन्द्रलाई पोखरिया मावि, विराटनगर–४ स्थित सिर्जना बाल विकास केन्द्र इक्राहीलाई जनता मावि इक्राही, विराटनगर–११ स्थित गोदावरी बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा गाभिएको छ। त्यस्तै विराटनगर–१९ स्थित दलित बस्ती बाल विकास केन्द्रलाई शिवजी आधारभूत विद्यालय, १९ नम्बर वडाकै मनोकामना बाल विकास केन्द्रलाई जागृति आधारभूत विद्यालय र नवज्योति बाल विकास केन्द्रलाई सार्वजनिक माविमा समायोजन गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले जानकारी दिए ।  
त्यस्तै विराटनगर–१२ स्थित बखरी बाल विकास केन्द्रलाई मिल्स मावि, प्रगतिशील बाल विकास केन्द्रलाई महामाया भगवती आधारभूत विद्यालय, ११ नम्बर वडाको झी गुठी बाल विकास केन्द्रलाई आदर्श मावि, पञ्चमुखी बाल विकास केन्द्रलाई जनता बाल कल्याण आधारभूत विद्यालय, पहिलो पाइला बाल विकास केन्द्रलाई आधारभूत विद्यालय कोचाखालमा गाभिएको छ।  सृष्टि बाल विकास केन्द्रलाई सत्यनारायण आधारभूत विद्यालय र सुम्निमा बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा समायोजन गरिएको छ । 
अर्को व्यवस्था नभएसम्मका लागि १९ नम्बर वडाको दार बाबा बाल विकास केन्द्रलाई श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय, ६ नम्बर वडाको नेपाल बालबालिका उत्थान बाल विकास केन्द्रलाई शङ्करपुर आधारभूत विद्यालय, ४ नम्बर वडाको सप्तकोसी बाल विकास केन्द्रलाई श्री मावि कञ्चनबारी र ६ नम्बर वडाको महिला तथा बाल विकास उत्थान केन्द्रलाई सहिद आधारभूत विद्यालयमा समायोजन गरिएको ढुङ्गेलले बताए ।  महानगरले बनाएको अनुगमन टोली बाल विकास केन्द्रहरूको निरीक्षण गरेको थियो । अनुगमन टोलीको प्रतिवेदनका आधारमा महानगरले बाल विकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गर्न सिफारिस गरेको थियो ।  यसबाट विद्यार्थीको पठनपाठनको गुणस्तरमा वृद्धि, खेल सामग्री प्राप्त गर्नुका साथै दिवा खाजा उपलब्ध गराउन पनि सहज हुने विराटनगरका उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । 
विद्यालयमा देखिँदै आएको दरबन्दी अभावलाई पनि समायोजनले केही हदसम्म सहज हुने महानगरले जनाएको छ।  बैठकले १९ नम्बर वडामा सञ्चालित चेतना बाल विकास केन्द्र र सूर्य बाल विकास केन्द्रलाई समुदायमै रहन दिने निर्णय गरेको छ । 
महानगरले शिक्षा सेवी रमानाथ भट्टराईको संयोजकत्वमा टोली गठन गरेर सामुदायिक विद्यालयहरूको अनुगमनलाई तीव्र बनाएको छ ।  त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले सबै प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौतासमेत गरिसकेको छ । 
बैठकमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास मितिका संयोजक काजीबहादुर बस्नेत,वडाध्यक्ष कुमार पोखरेल, उद्धव भुजेलसहित शिक्षा समितिका सदस्यहरू सहभागी थिए ।