विराटनगर । नेकपा एमालेले बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत र घाइतेहरूको उपचार गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण गराएको छ । 

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री एवं एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको नेतृत्वमा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी लगायतको टोलीले मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराएको हो । 

 पूर्व मुख्यमन्त्री राईले बाढी पहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा पुर्‍याएको क्षतिको विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरे ।

असोज १० देखि १२ सम्मको भीषण बाढी पहिरोले कोशी प्रदेशमा पुगेको जनधनको क्षति र बगाएका भौतिक संरचनाहरूको तत्कालै पुनर्निर्माणको कार्य अघि बढाउन आग्रह गरिएको प्रदेश कमिटी अध्यक्ष खतिवडाले बताए । साथै आवश्यक राहत, घाइतेको उपचार गर्न समेत माग गरिएको उनले जानकारी दिए ।

ध्यानाकर्षण गराउने क्रममा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी लगायतका मन्त्रीहरू उपस्थित थिए ।