खोटाङ । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्य पहाडी लोक मार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्य पहाडी लोक मार्गको एक्स्काभेटर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज खुलाइएको हो ।

हलेसी–जयराघाट सडक खण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरु मारे मुनि, त्यसभन्दा मुनि डौँठे खोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । “अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुई वटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ”, उनले भने, “पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।”

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट खोटाङ आएका साना तथा ठुला यातायातका सवारी साधन (गाडी) जयरामघाट, डौँठे खेला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटार लगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बिच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए ।  दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटक पटक अवरुद्ध हुँदै आएपछि विकल्पको रूपमा दिक्तेल–चखेवा भञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ ।